नेपाल हेल्थ न्युज, जुम्ला । जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका एक नगरपालिका र सात गाउँपालिकासहित आठवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माका अनुसार चालु आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहका लक्षित बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोप प्राप्त गरेपछि जुम्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।
उनका अनुसार १५ महिनासम्मका दुई हजार ६८ र १६ देखि २३ महिनासम्मका तीन हजार ३६४ बालबालिकाले सबै प्रकारका आवश्यक खोप प्राप्त गरेका छन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडेलले बालबालिकालाई समयमै सबै प्रकारका खोप लगाउनु स्वस्थ र निरोगी समाज निर्माणको आधार भएको बताए। उनले नियमित खोप कार्यक्रमलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्न महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्थानीय तह तथा सरोकारवाला निकायको योगदान महत्त्वपूर्ण रहेको बताए।
जिल्लामा हाल ८९ वटा खोप केन्द्र सञ्चालनमा रहेका छन् भने समग्र खोप कार्यक्रमको प्रगति ६८ प्रतिशत रहेको जनाइएको छ। कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्य शाखालाई पूर्णखोप सुनिश्चितता अभियानमा पुर्याएको योगदानको कदर गर्दै सम्मानसमेत गरिएको थियो।
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

