नेभिगेशन

स्वास्थ्य मन्त्रालयमा संगठनात्मक पुनर्संरचना गर्ने तयारी

५ महाशाखा घटाएर ३ बनाइने

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो कार्यप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन संगठनात्मक पुनर्संरचनाको तयारी अघि बढाएको छ। मन्त्रालयले प्रशासनिक संरचना परिमार्जन गर्दै निर्णय प्रक्रिया छिटो, प्रभावकारी र सेवामुखी बनाउने लक्ष्यसहित गृहकार्य सुरु गरेको जनाएको छ।

पुनर्संरचना योजनाअनुसार हाल सञ्चालनमा रहेका पाँच वटा महाशाखालाई कार्यप्रकृतिका आधारमा पुनर्गठन गरी तीन वटा मात्र कायम गर्ने तयारी गरिएको छ। समान प्रकृतिका विभागहरूलाई एकीकृत गर्दै मन्त्रालयको संरचनालाई थप व्यवस्थित बनाइने जनाइएको छ।

स्वास्थ्य क्षेत्रमा डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै मन्त्रालयले सूचना प्रविधि (आईटी) विभाग स्थापना गर्ने योजना पनि अघि बढाएको छ। प्रस्तावित विभागले स्वास्थ्य तथ्याङ्कको एकीकृत व्यवस्थापन, डिजिटल सेवा विस्तार तथा प्रविधिमैत्री स्वास्थ्य प्रणाली विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यसैगरी, मन्त्रालयले लामो समयदेखि केन्द्रमा केन्द्रित भई कार्यसम्पादनमा दोहोरोपन देखिएका करिब ३० प्रतिशत दरबन्दीलाई पुनर्संरचनामार्फत मातहतका निकाय र तल्लो तहका संरचनामा समायोजन गर्ने तयारी गरेको छ। यसबाट जनशक्तिको प्रभावकारी परिचालनका साथै स्थानीय तहसम्म सेवा प्रवाह थप सुदृढ हुने मन्त्रालयको विश्वास छ।

मन्त्रालयका अनुसार प्रस्तावित पुनर्संरचनाले प्रशासनिक सञ्चालन खर्चमा उल्लेख्य कमी ल्याउनुका साथै निर्णय प्रक्रिया छिटो हुने, जनशक्ति व्यवस्थापन प्रभावकारी बन्ने र नागरिकले प्राप्त गर्ने स्वास्थ्य सेवा अझ सहज तथा गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट