नेभिगेशन

शुल्क नतिर्ने मेडिकल तथा डेन्टल कलेजका विद्यार्थीको अस्थायी दर्ता रोक्ने नेपाल मेडिकल काउन्सिलको चेतावनी

नेपाल हेल्थ न्युज, काठमाडौं ।  नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्ना शुल्कबापत काउन्सिललाई बुझाउनुपर्ने बाँकी रकम तत्काल भुक्तानी नगर्ने मेडिकल तथा डेन्टल कलेजका विद्यार्थीको अस्थायी दर्ता (प्रोभिजनल रजिस्ट्रेसन) तथा विदेशी नागरिक चिकित्सक शिक्षकको दर्ता (फरेन नेशनल डक्टर्स रजिस्ट्रेसन) प्रक्रिया रोक्ने चेतावनी दिएको छ।

काउन्सिलले बिहीबार जारी गरेको सूचनाअनुसार नेपालमा चिकित्सा शिक्षा सञ्चालन गरिरहेका विभिन्न प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूले विद्यार्थी भर्ना तथा अन्य शीर्षकमा काउन्सिललाई बुझाउनुपर्ने शुल्क लामो समयदेखि भुक्तानी नगरेको जनाएको छ।

यसअघि काउन्सिलले २०८२ चैत २७ गते गोरखापत्रमार्फत तथा २०८३ वैशाख २४ गते आफ्नो आधिकारिक वेबसाइटमार्फत बाँकी रकम तत्काल बुझाउन सम्बन्धित संस्थाहरूलाई आग्रह गरेको थियो। ती सूचनापछि आफ्नो दायित्व पूरा गरी बाँकी रकम बुझाएका संस्थाप्रति काउन्सिलले धन्यवाद समेत व्यक्त गरेको छ।

तर पटक–पटक सूचना र पत्राचार गर्दा पनि केही मेडिकल तथा डेन्टल कलेजहरूले हालसम्म बाँकी रकम भुक्तानी नगरेको काउन्सिलले जनाएको छ। काउन्सिलका अनुसार ती संस्थाहरूलाई बाँकी रकमको विवरणसहित काउन्सिलको २०८३ जेठ १८ गतेको पूर्वनिर्णयअनुसार पुनः पत्राचार गरिएको छ।

काउन्सिलका रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा जारी सूचनामा बाँकी रकम तत्काल नबुझाए सम्बन्धित कलेजका विद्यार्थीको अस्थायी दर्ता तथा विदेशी नागरिक चिकित्सक शिक्षकको दर्ता प्रक्रिया रोकिने उल्लेख गरिएको छ।

काउन्सिलले यस निर्णयका कारण विद्यार्थी वा संस्थालाई पर्न सक्ने असुविधा तथा क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित मेडिकल तथा डेन्टल कलेज स्वयंले वहन गर्नुपर्ने स्पष्ट गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट