नेभिगेशन

स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड भुक्तानी

अनावश्यक परीक्षण र उपचारका लागि दबाब नदिन बोर्डको आग्रह

नेपाल हेल्थ न्युज, काठमाडौं ।  स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल रु. २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फरफारक भएको बोर्डले जनाएको छ।

बोर्डले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक स्वास्थ्य सुरक्षा प्रणालीको प्रमुख आधारका रूपमा सञ्चालन भइरहेको स्वास्थ्य बीमा कार्यक्रमले सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद पनि दैनिक हजारौं बीमित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ।

साथै, उपचारका क्रममा नागरिकले आफ्नै खर्चबाट व्यहोर्नुपर्ने आर्थिक भार घटाई वित्तीय जोखिमबाट संरक्षण गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याइरहेको जनाइएको छ।

बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमका लागि दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न कठिनाइ भएको थियो। यसबाट सेवा प्रदायक स्वास्थ्य संस्था र बीमित सेवाग्राही दुवैलाई असहज अवस्था सिर्जना भएको विषयप्रति बोर्ड जानकार रहेको जनाएको छ।

प्रेस विज्ञप्तिअनुसार, २०८२ साल मंसिरपछि प्राप्त दाबीहरूको भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय र पहल निरन्तर भइरहेको छ।

यसैबीच, बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवामा कुनै अवरोध वा कठिनाइ सिर्जना नगरी निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ।

त्यसैगरी, बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार रूपमा सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन बोर्डले अनुरोध गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बोर्डले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट