नेभिगेशन

जनस्वास्थ्य विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको उच्च शिक्षाको इतिहासमा पहिलो पटक जनस्वास्थ्य क्षेत्रका विज्ञ बहुविषयक विश्वविद्यालयको सर्वोच्च प्राज्ञिक नेतृत्वमा नियुक्त भएका छन्। खुला तथा प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपतिबाट प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका हुन्।

उनको नियुक्ति विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार सञ्चालन गरिएको खुला प्रतिस्पर्धात्मक प्रक्रियापछि भएको हो। यससँगै जनस्वास्थ्य पृष्ठभूमिका विज्ञ नेपालको बहुविषयक विश्वविद्यालयको उपकुलपति बनेको यो पहिलो अवसर बनेको शिक्षाविद्हरूले बताएका छन्।

नवनियुक्त उपकुलपति प्रा. डा. मरहठ्ठा जनस्वास्थ्य, महामारी विज्ञान, स्वास्थ्य प्रणाली सुदृढीकरण, वातावरण तथा पेसागत स्वास्थ्य, अनुसन्धान र उच्च शिक्षाका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित अनुसन्धानकर्ता तथा शिक्षाविद् हुन्। उनी हाल नेपाल खुला विश्वविद्यालयमा जनस्वास्थ्य विषयका प्राध्यापकका रूपमा कार्यरत रहँदै विभिन्न स्नातकोत्तर कार्यक्रमको शैक्षिक नेतृत्वसमेत गर्दै आएका थिए।

विश्व स्वास्थ्य संगठन (डब्ल्यू एच ओ) लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाबाट अनुसन्धान अनुदान प्राप्त गरिसकेका प्रा. डा. मरहठ्ठाका १०० भन्दा बढी अन्तर्राष्ट्रिय पियर–रिभ्युड अनुसन्धान लेख तथा पुस्तकका अध्याय प्रकाशित छन्। उनको अनुसन्धान, शैक्षिक नेतृत्व र नीति निर्माणमा रहेको योगदानले जनस्वास्थ्य तथा उच्च शिक्षाको क्षेत्रमा विशेष पहिचान बनाएको छ।

शिक्षाविद्हरूले प्रा. डा. मरहठ्ठाको नेतृत्वमा पूर्वाञ्चल विश्वविद्यालयमा अनुसन्धानमुखी शिक्षा, शैक्षिक गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय सहकार्य, डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा प्राज्ञिक सुशासन थप सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन्।

पूर्वाञ्चल विश्वविद्यालय नेपालका प्रमुख बहुविषयक विश्वविद्यालयमध्ये एक हो। विश्वविद्यालयमा स्वास्थ्य विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, कृषि, विज्ञान, कानुन तथा मानविकी लगायतका विभिन्न विषयमा उच्च शिक्षा प्रदान हुँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट