नेपाल हेल्थ न्युज, सप्तरी । सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख (पशु विकास अधिकृत, आठौँ) डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादव घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयका अनुसार भ्याक्सिनेटरहरूले सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमबाट २० प्रतिशत कमिसनका रूपमा घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टोलीले विशेष निगरानी गरेको थियो।
अनुसन्धानका क्रममा चालक भोगेन्द्र यादवलाई सेवाग्राहीबाट घुसस्वरूप ३३ हजार ३५० रुपैयाँ लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ।
पक्राउका क्रममा घुस रकमसहित स्रोत नखुलेको ४८ हजार ७० रुपैयाँसमेत बरामद भएको छ। यससँगै जम्मा ८१ हजार ४२० रुपैयाँ नगद, विभिन्न रकम उल्लेख भएका चार थान चेक (कुल १ लाख २९ हजार रुपैयाँ बराबर), एक थान मोबाइल बरामद गरिएको छ।
त्यसैगरी, निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दासको साथबाट एक थान मोबाइल र १ लाख २५ हजार रुपैयाँ बराबरको एक थान चेकसमेत बरामद गरिएको अख्तियारले जनाएको छ। यी सामग्री कार्यालय प्रमुखको कार्यकक्षबाट बरामद गरिएको हो।
आयोगले दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

