नेपाल हेल्थ न्युज, धनगढी । कैलालीस्थित टीकापुर प्रादेशिक अस्पतालमा कार्यरत एक ल्याब इन्चार्जमाथि हातपात गरेको आरोपमा करार सेवामा कार्यरत फिजियोथेरापिस्टलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति फिजियोथेरापिस्ट अनिल तिवारी हुन्। अस्पताल परिसरभित्र भएको भनिएको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडित ल्याब इन्चार्ज उमेश बजगाईंले अस्पताल प्रशासनसमक्ष लिखित उजुरी दिएका थिए।
उजुरी प्राप्त भएपछि अस्पताल प्रशासनले इलाका प्रहरी कार्यालयमा कानुनी कारबाहीका लागि निवेदन दिएको थियो। त्यसपछि प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
अस्पताल स्रोतका अनुसार केही समयअघि ल्याबका लागि खरिद गरिएका सामग्रीसँग सम्बन्धित विषयमा आर्थिक अनियमितताको आशंका व्यक्त गर्दै तिवारीले अस्पताल प्रशासनसमक्ष उजुरी दिएका थिए। सोही विषयमा छलफल भइरहेका क्रममा कर्मचारीहरूबीच विवाद भएको र त्यसपछि घटना भएको बताइएको छ।
पीडित बजगाईंका अनुसार छलफलपछि आफू कार्यकक्षतर्फ गएको बेला तिवारीले आएर हातपात गरेका हुन्। यद्यपि आरोपित तिवारीले भने आफूलाई अपमानजनक व्यवहार र गालीगलौज भएपछि विवाद चर्किएको प्रतिक्रिया दिएका छन्।
घटनाको वास्तविकता पत्ता लगाउन अस्पताल व्यवस्थापन समितिले आन्तरिक छानबिन समिति गठन गरेको छ। साथै प्रहरीले पनि पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।
राहदानी विभागमा आत्मदाह प्रयास गर्ने युवाको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै
बिहीबार, असार २५, २०८३
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत
बिहीबार, असार २५, २०८३
साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा
बिहीबार, असार २५, २०८३
गेटा अस्पताल अब शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने
बिहीबार, असार २५, २०८३
