नेभिगेशन

अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल

नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा वास्तविक सुधारका लागि सतही निर्णयभन्दा दीर्घकालीन नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अस्पताल फार्मेसीको बोर्ड परिवर्तन गर्दैमा नागरिकले सहज रूपमा सस्तो औषधि पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था नबन्ने उल्लेख गरेका छन्। स्वास्थ्य क्षेत्रमा देखिनेभन्दा प्रभावकारी र दिगो सुधारमा जोड दिनुपर्ने उनको भनाइ छ।

पौडेलले आफू स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहँदा आम नागरिकलाई सस्तो, गुणस्तरीय र सहज रूपमा औषधि उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न नीतिगत आधार तयार गरिएको बताएका छन्।

उनका अनुसार देशभर औषधिको समान मूल्य कायम गर्न तथा आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सेन्ट्रल बिडिङ (लोकल पर्चेजिङ) सञ्चालनको तयारी गरिएको थियो।

उनले विज्ञहरूको अध्ययनका आधारमा जेनेरिक औषधिको मूल्य निर्धारण, औषधिको मूल्य समायोजन सम्बन्धी नीतिगत व्यवस्था, औषधि तथा स्वास्थ्य सामग्री, कस्मेटिक र अतिरिक्त खाद्य पोषण नियमनसम्बन्धी नयाँ विधेयक तथा मूल्य निर्धारण निर्देशिका तयार गरी रायका लागि पठाइएको जानकारी दिएका छन्।

पौडेलले आवश्यक बजेट व्यवस्थापन गरिए पनि पछिल्लो समय ती महत्त्वपूर्ण नीतिगत कामहरू ओझेलमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले स्वास्थ्य क्षेत्रमा नागरिकले प्रत्यक्ष रूपमा राहत महसुस गर्ने गरी दीर्घकालीन सुधारका कार्यक्रमलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट