नेभिगेशन

गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय

नेपाल हेल्थ न्युज, काठमाडौं । गर्मी बढ्दै जाँदा अत्यधिक पसिना आउने, शरीर कमजोर महसुस हुने, धेरै तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाकी हुने, आँखाअगाडि धमिलो देखिने, सास फेर्न गाह्रो हुने तथा मुटुको धड्कन बढ्ने जस्ता समस्या देखिन सक्छन्। धेरै समय चर्को घाममा बस्दा हीट एक्सहस्टन वा हीट स्ट्रोक जस्ता गम्भीर अवस्था पनि आउन सक्छ। तर केही सामान्य सावधानी अपनाएर यी जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ। यहाँ गर्मीयाममा स्वस्थ रहनका लागि ७ महत्वपूर्ण सुझाव प्रस्तुत गरिएका छन्।

१. प्रशस्त पानी पिउनुहोस्

गर्मीमा शरीरबाट पसिनासँगै धेरै पानी र लवण बाहिरिन्छ। त्यसैले तिर्खा लागेपछि मात्र होइन, दिनभरि नियमित रूपमा पानी पिउने बानी बसाल्नु आवश्यक हुन्छ। सामान्यतया स्वस्थ वयस्कले दैनिक करिब २ देखि ३ लिटर पानी सेवन गर्नु उपयुक्त मानिन्छ, तर यो व्यक्तिको उमेर, काम र मौसमअनुसार फरक हुन सक्छ। आवश्यक परे ओआरएस, कागतीपानी वा नरिवलको पानी पनि उपयोगी हुन सक्छ। चिसो पानीले नुहाउँदा वा शरीरलाई चिसो राख्दा पनि गर्मीको असर कम गर्न सहयोग पुग्छ।

२. चर्को घामबाट जोगिनुहोस्

विशेषगरी दिउँसोको समयमा प्रत्यक्ष घाममा लामो समय बस्न नदिनुहोस्। बाहिर निस्कनै परे रुखको छायाँ, छाता वा छानो भएको स्थानको प्रयोग गर्नुहोस्। घरभित्र रहँदा पंखा, राम्रो हावापानी हुने कोठा वा आवश्यक भए एयर कन्डिसनर प्रयोग गर्न सकिन्छ। हरियाली भएको पार्क वा बगैंचामा केही समय बिताउँदा शरीर मात्र होइन, मानसिक रूपमा पनि ताजापन महसुस हुन्छ।

३. हल्का र आरामदायी कपडा लगाउनुहोस्

गर्मीमा लगाउने कपडाले पनि शरीरको तापक्रम नियन्त्रणमा भूमिका खेल्छ। हल्का रङका, खुकुला तथा कपास वा लिनेनजस्ता हावा सजिलै पार हुने कपडा छनोट गर्दा शरीर कम तात्छ र पसिना पनि सहज रूपमा सुक्छ।

४. शरीरलाई चिसो राख्ने खानेकुरा रोज्नुहोस्

गर्मीयाममा पानीको मात्रा धेरै भएका फलफूल र तरकारी सेवन गर्नु लाभदायक हुन्छ। काक्रो, खरबुजा, तरबुजा, सुन्तला, कागती, नरिवलको पानी, अंगुर, भुइँकटहर, अनार तथा अन्य मौसमी फलफूलले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छन्। अत्यधिक मसलेदार, धेरै तारेको वा शरीरमा गर्मी बढाउने खानेकुरा भने सीमित मात्रामा खानु राम्रो हुन्छ।

५. घरको वातावरण शीतल राख्नुहोस्

झ्यालमा पर्दा वा ब्लाइन्ड प्रयोग गरेर प्रत्यक्ष घामलाई घरभित्र पस्नबाट रोक्न सकिन्छ। प्रयोगमा नरहेका विद्युतीय उपकरण बन्द गर्दा पनि कोठाको तापक्रम कम गर्न सहयोग पुग्छ। साथै घर वरिपरि रुखबिरुवा रोप्दा वातावरण प्राकृतिक रूपमा चिसो रहन्छ।

६. मौसमको जानकारी नियमित लिनुहोस्

मौसम पूर्वानुमान हेर्ने बानीले दैनिक गतिविधि योजना बनाउन सजिलो हुन्छ। अत्यधिक गर्मी हुने दिनमा अनावश्यक रूपमा बाहिर ननिस्कने, पर्याप्त पानी बोकेर हिँड्ने र आवश्यक सावधानी अपनाउने निर्णय गर्न मौसमको जानकारी उपयोगी हुन्छ।

७. छालाको सुरक्षा गर्नुहोस्

घरबाहिर निस्कँदा टोपी, सनग्लास र चिकित्सकको सल्लाहअनुसार आफ्नो छालासँग मिल्ने सनस्क्रिन प्रयोग गर्नु राम्रो हुन्छ। यसले सूर्यबाट आउने हानिकारक पराबैंगनी किरणबाट छालालाई जोगाउन मद्दत गर्नुका साथै दीर्घकालीन रूपमा छालासम्बन्धी समस्या र छालाको क्यान्सरको जोखिम पनि घटाउन सहयोग पुर्‍याउन सक्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट