नेपाल हेल्थ न्युज, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. भीम चन्द नियुक्त भएका छन्। बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको विश्वविद्यालयको सिनेट बैठकले उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको हो।
गत वैशाखमा सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारीहरूलाई पदमुक्त गरेपछि नेतृत्वविहीन बनेको विश्वविद्यालयले नयाँ नेतृत्व पाएको हो। सरकारले गठन गरेको उच्चस्तरीय सिफारिस समितिको सिफारिसका आधारमा सिनेटले उपकुलपति र रजिस्ट्रार नियुक्त गरेको जनाएको छ।
नयाँ नेतृत्वसँगै कैलालीको गेटास्थित देशकै एकमात्र विशिष्टीकृत स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रम सञ्चालन तथा शिक्षण अस्पताललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको छ।
नवनियुक्त उपकुलपति प्रा. डा. जोशी यसअघि पनि विश्वविद्यालयका संस्थापक उपकुलपतिका रूपमा कार्यरत थिए। उनको पहिलो कार्यकालमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुनी तथा प्रशासनिक आधार तयार पारिएको थियो। उनले संगठन तथा व्यवस्थापन सर्वे (ओएनएम) सम्पन्न गराउनुका साथै विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नौ वटा नियमावली तयार गर्न नेतृत्व गरेका थिए। साथै एमबीबीएससहित चारवटा चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वतयारी अघि बढाएका थिए।
कम्युनिटी मेडिसिनका प्राध्यापक रहेका प्रा. डा. जोशी काठमाडौं मेडिकल कलेजमा अध्यापन गरिसकेका छन्। उनी विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा आबद्ध रहँदै आएका छन्। चिकित्सा तथा जनस्वास्थ्य क्षेत्रमा लामो अनुसन्धान अनुभव भएका उनका दर्जनौँ अनुसन्धानमूलक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।
यस्तै, रजिस्ट्रारमा नियुक्त डा. भीम चन्दसँग स्वास्थ्य संस्थाको प्रशासन तथा व्यवस्थापन क्षेत्रमा करिब तीन दशकको अनुभव छ। हस्पिटल म्यानेजमेन्टमा विद्यावारिधि गरेका उनले काठमाडौं मेडिकल कलेज स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यहाँ उनले १६ वर्षसम्म प्रशासन, लेखा तथा प्रशासकीय प्रमुखका रूपमा काम गरेका थिए।
नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य तथा इथिकल कमिटीका पूर्वसंयोजक रहेका डा. चन्द विगत १२ वर्षदेखि पिपुल्स डेन्टल कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत थिए। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको परियोजना प्रारम्भदेखि नै आबद्ध रहेका उनले पूर्वाधार निर्माणसम्बन्धी प्राविधिक समितिमा समेत काम गरेका थिए। विश्वविद्यालयको कार्यकारी परिषद्का पूर्वसदस्यका रूपमा उनले संगठन तथा व्यवस्थापन सर्वे र आवश्यक कानुन निर्माण प्रक्रियामा पनि योगदान दिएका थिए।
यसअघि सरकारले नयाँ पदाधिकारी छनोटका लागि प्रा. डा. जयराज अवस्थी, प्रा. डा. दिनेशकुमार लम्साल र प्रा. डा. लोचना श्रेष्ठ सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो। पछि प्रा. डा. लोचना श्रेष्ठको स्थानमा प्रा. डा. शैलु प्रधानलाई मनोनित गरिएको थियो। समितिले असार दोस्रो सातामै सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरे पनि बुधबार मात्रै नियुक्तिको औपचारिक निर्णय भएको हो।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३

