नेपाल हेल्थ न्युज, काठमाडौं । मधेश प्रदेशका मिर्गौलाका बिरामीलाई उपचार सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सरकारले जनकपुरधाममा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माण गर्ने तयारी थालेको हो।
केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको छ। मन्त्रालयको नीति, योजना तथा अनुसन्धान महाशाखाअन्तर्गत नीति, योजना तथा बजेट शाखाले विभागलाई पत्र पठाउँदै प्रतिष्ठान परिसरमा केन्द्र निर्माणसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको जनाएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमबाट केन्द्र निर्माणका लागि २५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ।
मिर्गौला रोगबाट पीडित बिरामीले नियमित डायलाइसिस तथा अन्य उपचारका लागि काठमाडौंलगायत ठूला सहर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले प्रदेशस्तरमै उपचार सेवा विस्तार गर्न लागिएको हो। केन्द्र स्थापना भएपछि मधेश प्रदेशका बिरामीलाई आफ्नै क्षेत्रमा उपचार सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
यद्यपि, विनियोजित बजेटबाट निर्माणको कुन चरणसम्मको काम सम्पन्न हुने, आवश्यक डायलाइसिस मेसिन तथा अन्य उपकरणको व्यवस्था कसरी गरिने र चिकित्सकीय जनशक्ति व्यवस्थापन कहिले हुने भन्ने विषय अझै स्पष्ट भएको छैन।
केन्द्र निर्माण मात्रै नभई आवश्यक उपकरण, दक्ष स्वास्थ्यकर्मी र नियमित उपचार सेवाको सुनिश्चितता गर्न सके मात्रै सरकारले अघि सारेको योजनाबाट मिर्गौलाका बिरामीले वास्तविक लाभ लिन सक्नेछन्।
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
वीर अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्स पदमा दरखास्त आह्वान
शुक्रबार, कात्तिक १३, २०८३
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीको २५औँ सत्याग्रह सुरु
शुक्रबार, कात्तिक १३, २०८३
