नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले नेपालमा बढ्दो मानसिक स्वास्थ्य समस्या समाधानका लागि अधिकारसम्पन्न छुट्टै ‘मानसिक स्वास्थ्य काउन्सिल’ स्थापना गर्न सरकारसँग आग्रह गर्नुभएको छ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्दै सांसद खनालले आत्मदाह, डिप्रेसन, तनाव तथा अन्य मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू बढ्दै गएको भन्दै यस विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताउनुभयो।
उहाँले प्रविधि र विज्ञानको विकासले जीवन सहज बनाए पनि मानिसको मानसिक स्वास्थ्यमा नयाँ चुनौतीहरू थपिँदै गएको उल्लेख गर्नुभयो। मानसिक स्वास्थ्यसम्बन्धी सेवा अहिले पनि सीमित क्षेत्र र सहर केन्द्रित रहेको भन्दै उहाँले सबै नागरिकको पहुँचमा पुग्ने गरी प्रभावकारी व्यवस्था आवश्यक रहेको बताउनुभयो।
सांसद खनालका अनुसार मानसिक स्वास्थ्य केवल औषधि र उपचारको विषय मात्र नभई व्यक्तिको जैविक अवस्था, मनोवैज्ञानिक पक्ष र सामाजिक वातावरणसँग जोडिएको समग्र विषय हो। त्यसैले यसलाई व्यापक दृष्टिकोणबाट हेर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले हालको मानसिक स्वास्थ्य नीतिमा आवश्यक सुधार गर्दै नयाँ र प्रभावकारी नीति ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। मानसिक स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योजना, पर्याप्त सेवा विस्तार र संस्थागत संरचना निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
