नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेको छ। औसत आयु बढ्दै जानु, जनसांख्यिकीय संरचनामा आएको परिवर्तन, नयाँ–नयाँ चिकित्सा प्रविधिको विकास, प्रमाणमा आधारित उपचार प्रणाली (इभिडेन्स वेस्ड प्राक्टिस) र अनुसन्धानमुखी अभ्यासले चिकित्सा तथा नर्सिङ शिक्षालाई पहिलेभन्दा धेरै चुनौतीपूर्ण बनाएको छ। यस्ता चुनौती सामना गर्न सक्षम, दक्ष र व्यावसायिक स्वास्थ्य जनशक्ति उत्पादन गर्न परम्परागत शिक्षण विधिलाई समयअनुकूल रूपान्तरण गर्नु अपरिहार्य बन्दै गएको छ।
विज्ञहरूका अनुसार आजको चिकित्सा शिक्षामा केवल कक्षाकोठामा हुने व्याख्यान (लेक्चर) पर्याप्त छैन। त्यसैले स्किल डेमोन्स्ट्रेसन, रोल प्ले, परियोजनामा आधारित अध्ययन, प्रमाणमा आधारित अभ्यास, ड्रिल तथा सिमुलेसनजस्ता आधुनिक शिक्षण विधिलाई पाठ्यक्रममा समावेश गर्ने अभ्यास विश्वभर बढिरहेको छ। यिनैमध्ये सिमुलेसन शिक्षण अहिले सबैभन्दा प्रभावकारी र विद्यार्थी–केन्द्रित विधिका रूपमा स्थापित हुँदै गएको छ।
वास्तविक अस्पतालको अनुभव, सुरक्षित सिकाइ
सिमुलेसन शिक्षण विधि भनेको वास्तविक अस्पताल, बिरामी र उपचार प्रक्रियाको अवस्था सुरक्षित वातावरणमा पुनःनिर्माण गरेर विद्यार्थीलाई अभ्यास गराउने प्रक्रिया हो। यसले विद्यार्थीलाई वास्तविक बिरामीमा प्रत्यक्ष सेवा दिनुअघि आवश्यक प्राविधिक सीप, चिकित्सकीय निर्णय क्षमता, सञ्चार कौशल तथा टोलीगत कार्यशैली विकास गर्ने अवसर प्रदान गर्छ।
विशेष गरी दुर्लभ तथा जटिल अवस्थाको अनुकरण गरी विद्यार्थीलाई कसरी छिटो र सही निर्णय लिने भन्ने अनुभव दिलाइन्छ। यसले उनीहरूको आत्मविश्वास बढाउनुका साथै भविष्यमा अस्पतालमा कार्यरत हुँदा हुने त्रुटि न्यूनीकरण गर्न समेत सहयोग पुर्याउने विश्वास गरिएको छ।
सुश्रुतदेखि आधुनिक मेनिक्विनसम्म
चिकित्सा शिक्षामा सिमुलेसनको व्यवस्थित प्रयोग आधुनिक अवधारणाअनुसार सन् १९३० को दशकदेखि सुरु भएको मानिन्छ। तर यसको आधार भने धेरै पुरानो छ। इतिहासअनुसार भारतीय शल्यचिकित्साका महान् विद्वान सुश्रुतले आफ्ना विद्यार्थीलाई कमलको पात तथा जनावरको छालामा शल्यक्रियाको अभ्यास गराउने गरेका थिए। यसलाई व्यवहारिक चिकित्सा शिक्षाको प्रारम्भिक स्वरूप मानिन्छ।
सन् १९६८ मा कम्प्युटरद्वारा सञ्चालन हुने पूर्ण शरीरयुक्त मानव मेनिक्विन विकास भएपछि चिकित्सा शिक्षामा सिमुलेसनले नयाँ आयाम प्राप्त गर्यो। त्यसयता सीपीआर अभ्यासका लागि विशेष मोडेल, नर्सिङ शिक्षाका लागि विभिन्न प्रकारका मेनिक्विन तथा भर्चुअल सिमुलेसन प्रणाली निरन्तर विकास हुँदै आएका छन्।
नर्सिङ शिक्षामा बढ्दो महत्व
नर्सिङ शिक्षामा सिमुलेसन विशेष प्रभावकारी मानिन्छ। आधारभूत बिरामी हेरचाह, ड्रेसिङ, इन्जेक्सन, बिरामीको पोजिसन परिवर्तन, जीवनरक्षक प्रक्रिया तथा आकस्मिक उपचार व्यवस्थापनसम्मका सीप विद्यार्थीले मेनिक्विन र वास्तविक अवस्थाको अनुकरणमार्फत सुरक्षित वातावरणमै अभ्यास गर्न पाउँछन्।
आधुनिक सिमुलेसनमा मेसिन मात्र प्रयोग गरिँदैन। विद्यार्थीलाई नै बिरामी, नर्स, चिकित्सक वा आफन्तको भूमिकामा प्रस्तुत गराएर वास्तविक परिस्थितिजस्तै सिकाइ गराउने अभ्यास पनि बढ्दै गएको छ। यसले प्राविधिक सीपसँगै सञ्चार, नेतृत्व र टोलीगत समन्वय क्षमता पनि विकास गर्छ।
नेपाल मेडिकल कलेजमा ट्रायेज म्यानेजमेन्टको व्यवहारिक अभ्यास
यही आधुनिक शिक्षण अवधारणालाई आत्मसात् गर्दै नेपाल मेडिकल कलेजले पनि सिमुलेसन (अनुकरण) आधारित शिक्षणलाई प्राथमिकता दिएको छ। कलेजले हाल बीएससी नर्सिङ दोस्रो वर्ष ९१३औँ ब्याच० का विद्यार्थीहरूका लागि ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ कार्यक्रम सञ्चालन गरेको छ।
लेक्चरर पूजा प्रकाशको निरीक्षण तथा सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रि–हस्पिटल तथा आकस्मिक विभागमा बिरामीको अवस्थाअनुसार गरिने ट्रायेज (प्राथमिकता निर्धारण) प्रक्रिया, विभिन्न तहका नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिका तथा टोलीगत समन्वयबारे व्यवहारिक अभ्यास गराइएको थियो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले अस्पतालको वास्तविक वातावरणलाई अनुकरण गर्दै आकस्मिक अवस्थामा कुन बिरामीलाई पहिले उपचार गर्ने, कसरी उपचार व्यवस्थापन गर्ने तथा स्वास्थ्यकर्मीबीच प्रभावकारी समन्वय कसरी गर्ने भन्ने विषयमा अभ्यास गरेका थिए।
प्रशिक्षक पूजा प्रकाशका अनुसार यस्तो अभ्यासले कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्छ। उनका अनुसार सिमुलेसनमार्फत सिकाइ गर्दा विद्यार्थीमा आत्मविश्वास बढ्ने, निर्णय क्षमता विकास हुने र अस्पतालमा कार्यरत हुँदा चुनौतीपूर्ण अवस्थालाई प्रभावकारी रूपमा सामना गर्न सक्ने क्षमता विकसित हुन्छ।
भविष्यको चिकित्सा शिक्षाको आधार
स्वास्थ्य सेवाको गुणस्तर प्रत्यक्ष रूपमा स्वास्थ्यकर्मीको दक्षतासँग जोडिएको हुन्छ। त्यसैले दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप विकासलाई समान महत्व दिनुपर्ने आवश्यकता बढ्दो रूपमा महसुस गरिएको छ।
यही कारणले विश्वका प्रतिष्ठित चिकित्सा शिक्षण संस्थाहरूले सिमुलेसनलाई शिक्षणको अभिन्न अंग बनाइसकेका छन्। नेपालमा पनि नेपाल मेडिकल कलेजजस्ता संस्थाले यस्ता विद्यार्थी–केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै सिमुलेसनमा आधारित शिक्षण विस्तार गरिरहेका छन्।
विशेषज्ञहरूका अनुसार भविष्यमा चिकित्सा तथा नर्सिङ शिक्षामा सिमुलेसनको दायरा अझ विस्तार हुँदै जानेछ। यसले दक्ष, जिम्मेवार, आत्मविश्वासी र बिरामी–केन्द्रित स्वास्थ्यकर्मी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
निजी स्वास्थ्य सेवामा भोलिदेखि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू, उपचार खर्च बढ्ने
बिहीबार, असार ३२, २०८३
करिब १०० दिनमै निःशुल्क स्वास्थ्य पोर्टलबाट २,२०० भन्दा बढी नागरिक लाभान्वित
बिहीबार, असार ३२, २०८३
छोरीको कलेजो दानबाट बुबाले पाए नयाँ जीवन, किस्टमा १७औँ सफल प्रत्यारोपण
बिहीबार, असार ३२, २०८३
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
बिहीबार, असार ३२, २०८३
