नेभिगेशन

नयाँ संरचनामा स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पद हटाउने प्रस्ताव

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार गरेको प्रस्तावित सङ्गठन तथा व्यवस्थापन (ओएनएम) संरचनाको प्रारम्भिक मसौदामा हाल रहेको १२औँ तहको अतिरिक्त सचिव पदलाई निरन्तरता नदिने प्रस्ताव गरिएको छ।

प्रस्तावित संरचनाअनुसार मन्त्रालयको नेतृत्व सचिवले गर्ने व्यवस्था रहनेछ। सचिवको प्रत्यक्ष मातहत तीनवटा महाशाखा तथा स्वास्थ्य आपत्कालीन र विपद् व्यवस्थापन एकाइ रहने अवधारणा अघि सारिएको छ।

हाल मन्त्रालयमा १२औँ तहको अतिरिक्त सचिवको दरबन्दी कायम रहे पनि नयाँ संरचनामा उक्त पद समावेश नगरिएको प्रस्ताव गरिएको छ। प्रस्ताव कार्यान्वयनमा आएमा मन्त्रालयको प्रशासनिक संरचनामा केही पुनर्संरचना हुने अपेक्षा गरिएको छ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार प्रस्तावित संरचनामा सचिवअन्तर्गत नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखा, स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखा तथा प्रशासन तथा सूचना प्रविधि महाशाखा रहने व्यवस्था गरिएको छ। साथै, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यका लागि छुट्टै एकाइको पनि प्रस्ताव गरिएको छ।

प्रस्तावित ओएनएम संरचना प्रारम्भिक मसौदाको चरणमा रहेकाले आवश्यक सुझाव र परामर्शपछि अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट