नेभिगेशन

दार्चुलाबाट डा. गोविन्द केसीको घोषणा : ७ साउनदेखि फेरि अनशन सुरु गर्छु

नेपाल हेल्थ न्युज, काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफ्ना मागहरू बेवास्ता गरेको आरोप लगाउँदै ७ साउनदेखि पुनः सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्।

दार्चुलाबाट बुधबार जारी विज्ञप्तिमार्फत उनले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको प्रभावमा पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक सार्वजनिक सेवाका क्षेत्र भए पनि सरकारले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को भावना विपरीत काम गरिरहेको उनको भनाइ छ।

डा. केसीले ऐनअनुसार २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था भए पनि त्यसको कार्यान्वयनमा सरकारले कुनै ठोस पहल नगरेको बताएका छन्। न्यूनतम मापदण्डसमेत पूरा नगरेका निजी मेडिकल, डेन्टल तथा नर्सिङ कलेजहरूको प्रभाव नीति निर्माणदेखि सार्वजनिक संस्थाको नेतृत्व चयनसम्म देखिएको उनको आरोप छ।

सरकार निजी मेडिकल माफियाको प्रभावमा परेको दाबी गर्दै उनले चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयहरूमा स्वार्थ बाझिने व्यक्तिहरूलाई जिम्मेवारी दिने काम भइरहेको बताएका छन्।

सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूकै भरमा ग्रामीण स्वास्थ्य सेवा सञ्चालन भइरहेको उल्लेख गर्दै डा. केसीले छात्रवृत्ति सिट घटाउने र निजी कलेजमा सःशुल्क सिट बढाउने सरकारी नीतिले भविष्यमा सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बन्न सक्ने चेतावनी दिएका छन्। यसबाट विपन्न तथा जेहेन्दार विद्यार्थीहरू चिकित्सा शिक्षा अध्ययन गर्ने अवसरबाट समेत वञ्चित हुने उनको भनाइ छ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रियामाथि पनि उनले प्रश्न उठाएका छन्। दरखास्त आह्वानअघि नै निश्चित व्यक्तिलाई नियुक्त गर्ने उद्देश्यका साथ प्रक्रिया अघि बढाइएको आरोप लगाउँदै उनले यसले आयोगको निष्पक्षता र विश्वसनीयतामा गम्भीर आघात पुगेको बताएका छन्।

गेटा मेडिकल कलेजको विषयमा पनि उनले असन्तुष्टि व्यक्त गरेका छन्। लामो संघर्षपछि सञ्चालनको तयारीमा पुगेको संस्थामा हतारमा शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय सम्बन्धी ऐन ल्याएर निजी स्वार्थअनुसार नयाँ संरचना थोपर्ने प्रयास भएको उनको आरोप छ। मेडिकल विश्वविद्यालय आवश्यक भए त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै विश्वविद्यालयका रूपमा विकास गर्न सकिने उनको तर्क छ। डा. केसीले गेटा मेडिकल विश्वविद्यालय राजनीतिक हस्तक्षेप र स्वार्थका कारण अझै सञ्चालनमा आउन नसकेको पनि बताएका छन्।

उनले सरकारले स्वार्थको द्वन्द्व हुने गरी गरिएका नियुक्ति तत्काल बदर गर्न, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती तथा निजी कलेजमा सिट वृद्धि गर्ने निर्णय फिर्ता लिन, चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन गर्न तथा विगतमा भएका सम्झौताहरू लागू गर्न माग गरेका छन्।

त्यसैगरी सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका आधारभूत सेवा विस्तार गर्न, २०८२ भदौ २३ र २४ मा भएका हत्या, आगजनी र लुटपाटका दोषीलाई कारबाही गर्न तथा २०४६ सालयताका उच्च पदस्थ व्यक्तिहरूमाथि भएका भ्रष्टाचार र अपराधको निष्पक्ष छानबिन गर्न पनि उनले माग गरेका छन्।

डा. केसीका अनुसार यी मागहरू सम्बोधन गर्न सरकारलाई ५ साउनसम्मको समयसीमा दिइएको भए पनि कुनै प्रतिक्रिया नआएकाले ७ साउनदेखि पुनः सत्याग्रह सुरु गर्ने निर्णय गरिएको हो।

विज्ञप्तिमा उनले भनेका छन्, जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारप्रति सरकारले देखाएको असंवेदनशीलताका कारण म साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्दै छु। यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ