नेपाल हेल्थ न्युज, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि आक्रमण भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वास्तविक अवस्था बुझ्न, परिस्थितिको अनुगमन गर्न तथा आवश्यक समन्वयका लागि प्रतिनिधि टोली वीरगञ्ज पठाएको छ।
यसैबीच, आक्रमणमा घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्रालयका अनुसार घाइते चिकित्सकको उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था नेपाल सरकारले मिलाएको छ।
मन्त्री मेहताले स्वास्थ्य संस्थामा हुने कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने स्पष्ट पार्दै घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही गरिने बताउनुभएको छ । साथै, स्वास्थ्यकर्मीको सुरक्षा र नागरिकले सुरक्षित वातावरणमा उपचार सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ।
घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
एक महिना नियमित कागती पानी पिउँदा शरीरमा के हुन्छ ?
सोमबार, साउन ११, २०८३
नारायणी अस्पताल घटनापछि सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह, दोषीमाथि कारबाहीको निर्देशन
सोमबार, साउन ११, २०८३

