नेभिगेशन

गेटा विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि एमबीबीएस सञ्चालन नभए अनशन बस्ने मेयर हमालको चेतावनी

नेपाल हेल्थ न्युज, धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) मा यसै शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सञ्चालन नभए आफू अनशन बस्नेसम्मको आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै मेयर हमालले सरकार र डा. गोविन्द केसी पक्षबीच गेटा विश्वविद्यालय सञ्चालनका विषयमा छलफल भइरहेका बेला सुदूरपश्चिमका नागरिकको दशकौँदेखिको अपेक्षालाई थप अन्योलमा नराख्न सरकारसँग आग्रह गरेका हुन्।

उनले गेटा विश्वविद्यालय सुदूरपश्चिमको शिक्षा र स्वास्थ्य क्षेत्रको विकाससँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण परियोजना भएकाले अब भौतिक संरचना निर्माणको चर्चा मात्र नभई शैक्षिक गतिविधि तत्काल सुरु गर्नुपर्ने आवश्यकता औँल्याए।

विश्वविद्यालयका पदाधिकारी नियुक्ति वा व्यवस्थापकीय बहसभन्दा विद्यार्थी भर्ना र पठनपाठन सुरु हुनु नै अहिलेको मुख्य प्राथमिकता हुनुपर्ने उनको भनाइ छ।

“सुदूरपश्चिमका जनताको चाहना यही वर्षदेखि एमबीबीएस अध्ययन सुरु होस् भन्ने हो। पदाधिकारी को बन्छ भन्ने बहसभन्दा विश्वविद्यालयमा पढाइ सुरु हुनु मुख्य विषय हो,” उनले भिडियो सन्देशमा भनेका छन्।

मेयर हमालले यसै शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सञ्चालन हुने स्पष्ट सुनिश्चितता नभए आफू आन्दोलनको अग्रपङ्क्तिमा उभिने र आवश्यक परे अनशनसमेत बस्ने चेतावनी दिएका छन्।

साथै, उनले गेटा विश्वविद्यालय सञ्चालनका लागि साझा दबाब सिर्जना गर्न राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय तथा आम नागरिकलाई एकजुट हुन अपिल गरेका छन्। यो विषय कुनै व्यक्ति वा संस्थाको मात्र नभई समग्र सुदूरपश्चिमको भविष्यसँग जोडिएको साझा मुद्दा भएकाले सबै पक्षले जिम्मेवारीपूर्वक पहल गर्नुपर्ने उनले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट