नेभिगेशन

नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा,  आकस्मिक सेवा पनि बन्द

नेपाल हेल्थ न्युज, काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा समेत माग गरेका छन्।

नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् भने बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको छ। सबै चिकित्सकले सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेको उनले जानकारी दिए।

चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिकबाहेकका सेवा प्रभावित भएका छन्। डा. सिंहका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि चिकित्सकहरू आकस्मिक सेवा सञ्चालन गर्न सकारात्मक बनेका थिए। चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि उनीहरू वार्ताका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

तर वार्ताका क्रममा वातावरण तनावपूर्ण बनेको चिकित्सकहरूको आरोप छ। नेपाल चिकित्सक संघका प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको पनि राजीनामा माग्न सकिने चेतावनी दिएपछि सीडीओ आक्रोशित बनेको र त्यसपछि सीडीओ तथा एसपीले चिकित्सकप्रति अपशब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएको आरोप चिकित्सकहरूले लगाएका छन्।

डा. सिंहका अनुसार वार्ताबाट बाहिरिने क्रममा प्रहरीले चिकित्सकहरूलाई घेरा हालेर मोबाइल खोसेको, पुनः कार्यालयभित्र लगेर झण्डै एक घण्टा नियन्त्रणमा राखेको तथा अपराधीसरह व्यवहार गरेको थियो। यही घटनापछि सुरक्षित वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुग्दै सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको उनले बताए।

उनले सीडीओ र एसपी पदमा रहुञ्जेल आफूहरू काममा नफर्किने अडान दोहोर्‍याउँदै अस्पतालभित्र चिकित्सकमाथि आक्रमण हुनु र वार्ताका क्रममा प्रशासनबाट धम्कीपूर्ण व्यवहार हुनु गम्भीर विषय भएको बताए।

यसैबीच, नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको प्रशासनिक व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, चिकित्सकका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न तथा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

गत ८ साउनमा नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण र अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरूले देशव्यापी रूपमा ओपीडी सेवा बन्द गर्दै आन्दोलन जारी राखेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट