नेभिगेशन

स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्यकर्मीमाथि बढ्दै गएको आक्रमण तथा स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ।

मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ५ बमोजिम गठन भएको उक्त समितिलाई नियमित रूपमा सञ्चालनमा ल्याई स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी समस्या समाधानका लागि प्रभावकारी रूपमा परिचालन गरिनेछ।

पछिल्लो समय देशका विभिन्न अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण तथा अस्पतालमा तोडफोडका घटना बढ्दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

ऐनअनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गृह मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय गर्ने, सुरक्षा नीतिसम्बन्धी विषयमा नेपाल सरकारलाई सुझाव दिने तथा सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ र अनुसन्धानमा आवश्यक सहयोग गर्ने अधिकार पाएको छ। साथै, अदालतको फैसला बमोजिम क्षतिपूर्तिसम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै रहने व्यवस्था छ।

समितिको अध्यक्ष मन्त्रालयका सचिवले तोकेको मन्त्रालयको बाह्रौँ तहको कर्मचारी रहने तथा उपाध्यक्ष सम्बन्धित महाशाखा प्रमुख हुने कानुनी व्यवस्था छ। समितिमा गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल चिकित्सक सङ्घ, नेपाल स्वास्थ्य प्राविधिक सङ्घ, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, नेपाल नर्सिङ सङ्घ तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालका प्रतिनिधिहरू सदस्य रहनेछन्। मन्त्रालयले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका अधिकृत सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।

हालै नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न विद्यमान कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग तीव्र बनेको छ। यही सन्दर्भमा मन्त्रालयले निष्क्रिय रहेको सुरक्षा समन्वय समितिलाई पुनः सक्रिय बनाउँदै तत्काल देखिएका सुरक्षा चुनौती समाधान तथा आवश्यक नीतिगत निर्णय अघि बढाउने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट