नेपाल हेल्थ न्युज, काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर (एमसीभीटीसी) ले नेपालमै पहिलो पटक मुटुका तीनवटै भल्भमा न्यून चिरफार (मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी–मिक्स) विधिबाट सफल शल्यक्रिया गरेको छ। चिकित्सकहरूका अनुसार यो शल्यक्रिया विश्वमै दुर्लभ तथा अत्यन्त जटिल शल्यक्रियामध्ये एक हो।
अस्पतालका अनुसार करिब १० दिनअघि ५२ वर्षीय एक पुरुष बिरामीको सफल शल्यक्रिया गरिएको थियो। उपचारपछि बिरामी पूर्ण रूपमा स्वस्थ भई अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
शल्यक्रियाको नेतृत्व कन्सल्टेन्ट कार्डियाक सर्जन डा. अनिल भट्टराईले गर्नुभएको थियो। उहाँसँग विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोली सहभागी थियो। एनेस्थेसिया टोलीको नेतृत्व डा. विभूष श्रेष्ठ र प्रा.डा. विश्वास प्रधानले गर्नुभएको थियो।
डा. भट्टराईका अनुसार बिरामीका माइट्रल, एओर्टिक र ट्राइकसपिड गरी तीनवटै मुटुका भल्भ बाथजन्य मुटुरोग (र्युमेटिक हार्ट डिजिज) का कारण गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए। बिरामीको अवस्था मूल्यांकनपछि डबल भल्भ रिप्लेसमेन्ट (डीभीआर) र ट्राइकसपिड भल्भ मर्मत (टीभी रिपेयर) सफलतापूर्वक गरिएको उहाँले जानकारी दिनुभयो।
विशेषज्ञहरूका अनुसार तीनवटै मुटुका भल्भ एकैपटक प्रभावित भएको अवस्थामा न्यून चिरफार विधिबाट शल्यक्रिया गर्नु अत्यन्त चुनौतीपूर्ण मानिन्छ। विश्वका सीमित विशेषीकृत केन्द्रहरूमा मात्र नियमित रूपमा गरिने यस्तो शल्यक्रिया नेपालमा सफल हुनु मुलुकको कार्डियाक सर्जरी सेवाले अन्तर्राष्ट्रिय स्तरतर्फ उल्लेखनीय फड्को मारेको संकेत भएको चिकित्सकहरूको भनाइ छ।
सामान्यतया यस्ता जटिल मुटुका शल्यक्रियामा छातीको बीच भागमा ठूलो चिरा पारेर स्टर्नम (छातीको हड्डी) खोल्नुपर्ने हुन्छ। तर यसपटक बिरामीको काखीमुनिको सानो चिराबाट शल्यक्रिया गरिएको डा. भट्टराईले बताउनुभयो। यस विधिबाट कम पीडा हुने, रगत कम बग्ने, संक्रमणको जोखिम घट्ने, छिटो स्वास्थ्यलाभ हुने तथा शरीरमा न्यून दाग रहनेजस्ता फाइदा हुने चिकित्सकहरूको भनाइ छ।
सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले यस सफलताले नेपालमा विश्वस्तरीय उन्नत मुटु शल्यक्रिया सेवा उपलब्ध गराउन सक्ने क्षमता पुष्टि गरेको बताउनुभयो।
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
