नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले सुत्केरी महिलाले पाउँदै आएको तलबी प्रसूति बिदा ६ महिना पुर्याउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामार्फत यस्तो प्रस्ताव अघि सारेको हो।
हाल सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाले कम्तीमा ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था रहेको छ। प्रस्तावित संशोधनमा ऐनको दफा १३ मा उल्लेख गरिएको ‘कम्तीमा अन्ठानब्बे दिन’ भन्ने व्यवस्था हटाई ‘छ महिना’ कायम गर्ने प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ।
यो संशोधन पारित भई कार्यान्वयनमा आएमा सुत्केरी महिलाले शिशु जन्मिनुअघि वा जन्मिएपछि गरी कुल छ महिनासम्म तलबसहितको प्रसूति बिदा पाउनेछन्।
मन्त्रालयका अनुसार आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण, शिशुलाई नियमित स्तनपान गराउने वातावरण सुनिश्चित गर्ने तथा सुत्केरी महिलालाई आवश्यक आराम र हेरचाहको अवसर उपलब्ध गराउने उद्देश्यले बिदाको अवधि बढाउने प्रस्ताव गरिएको हो।
विधायन ऐन, २०८१ बमोजिम मन्त्रालयले विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला निकाय तथा सर्वसाधारणबाट राय–सुझाव आह्वान गरेको छ। इच्छुक व्यक्ति वा संस्थाले मन्त्रालयको कानुन शाखाको आधिकारिक इमेलमार्फत तोकिएको समयभित्र सुझाव पठाउन सक्नेछन्।
प्राप्त सुझावहरू समेटेर विधेयकलाई अन्तिम रूप दिई स्वीकृतिका लागि सङ्घीय संसद्मा दर्ता गराउने सरकारको तयारी रहेको मन्त्रालयले जनाएको छ।
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
