नेभिगेशन

लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

नेपाल हेल्थ न्युज, काठमाडौं । लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समन्वय समिति पुनः सक्रिय भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सम्पन्न समितिको बैठकले अबदेखि नियमित रूपमा बैठक सञ्चालन गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासँग सम्बन्धित समस्या समयमै समाधान गर्न समन्वयात्मक भूमिका प्रभावकारी बनाउने निर्णय गरेको हो।

बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ७ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ। यसका लागि हाल सञ्चालनमा रहेको दर्ता तथा नवीकरण प्रणालीलाई सार्वजनिक आह्वानमार्फत अझ प्रभावकारी बनाइने मन्त्रालयले जनाएको छ।

त्यसैगरी, ऐन तथा नियमावलीमा आवश्यक संशोधनका लागि समितिमा आबद्ध सदस्य संस्थाका प्रतिनिधिहरूसँग लिखित सुझाव माग्ने निर्णय पनि गरिएको छ। मन्त्रालयले तोकेको इमेलमार्फत सुझाव सङ्कलन गरी ऐन तथा नियमावली संशोधन प्रक्रिया अघि बढाइने जानकारी दिइएको छ।

समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालयले छुट्टै समर्पित (डेडिकेटेड) इमेल समूह सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त इमेलमार्फत बैठकका एजेन्डा, निर्णय तथा अन्य आवश्यक सूचनाको नियमित आदानप्रदान गरिनेछ।

बैठकले हालसम्म भएका कामको समीक्षा, विगतका गतिविधिको दस्तावेजीकरण तथा आगामी कार्ययोजना तयार गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिमा डा. कुन्जाङ शेर्पा, डा. सञ्जिव तिवारी र रोजिना तण्डुकार सदस्य रहेका छन्।

यसैबीच, समितिको अर्को बैठक एक महिनाभित्र बस्ने निर्णय गरिएको छ। नियमित बैठक सञ्चालनबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी समस्याहरू समयमै सम्बोधन हुने तथा आवश्यक नीतिगत निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयनमा जाने विश्वास समितिले व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट