नेभिगेशन

सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ

नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारी अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव रहेको विषय उठाउँदै त्यसको प्रभावकारी व्यवस्थापन गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारी अस्पतालमा आवश्यक खोप सहज रूपमा उपलब्ध नभएको, तर निजी स्वास्थ्य संस्थामा भने महँगो मूल्यमा पाइने अवस्था देखिएको बताइन्। यस्तो परिस्थितिले स्वास्थ्य सेवा व्यवस्थापनप्रति प्रश्न उठाएको उनको भनाइ थियो।

सांसद क्षेत्रीले क्यान्सर उपचारमा प्रयोग हुने केही अत्यावश्यक औषधिको अभावबारे पनि गुनासो आएको उल्लेख गर्दै यसमा कृत्रिम अभाव सिर्जना गरिएको हो वा व्यवस्थापनको कमजोरीका कारण समस्या उत्पन्न भएको हो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने धारणा राखिन्।

सांसद क्षेत्रीका अनुसार सरकारले उपलब्ध गराउन खोजेको सेवा र नागरिकले वास्तविक रूपमा प्राप्त गरिरहेको सेवाबीच ठूलो अन्तर देखिएको छ। उनले यस्ता समस्या नयाँ नभएकाले यसको कारण पहिचान गरी जिम्मेवार निकायले प्रभावकारी समाधानका लागि गम्भीर अध्ययन र आवश्यक कदम चाल्नुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ