नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको समस्या समाधान, सेवा–सुविधा सुधार र वृत्तिविकासका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएकी छन्।
बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विशेषगरी आवासीय (इन्टर्न) चिकित्सकहरू न्यून सेवा–सुविधा, लामो कार्यसमय र श्रम शोषणको समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन्।
उनले स्वास्थ्य क्षेत्रमा वर्षौंदेखि जनशक्ति अभावको चर्चा भइरहे पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा चिकित्सकको व्यवस्थापनका लागि प्रभावकारी रणनीति लागू हुन नसकेको बताइन्। स्वास्थ्य क्षेत्रको सुधार संघीय सरकारको प्रयासले मात्र सम्भव नहुने भन्दै संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
डा. कार्कीले विशेषगरी प्रदेश सरकारअन्तर्गत रहेका जिल्ला अस्पताल र आधारभूत अस्पतालहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरिन्। स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने नीति र घोषणा भइरहे पनि व्यवहारमा चिकित्सकहरू आफ्ना माग पूरा गराउन आन्दोलन र आमरण अनशनसम्म बस्नुपर्ने अवस्था आउनु स्वास्थ्य क्षेत्रकै लागि दुःखद भएको उनले बताइन्।
उनले शिक्षा मन्त्रालयद्वारा गठित कार्यदलले करिब ८० दिनअघि प्रतिवेदन बुझाइसकेको भए पनि त्यसका सिफारिस कार्यान्वयनमा नआएकोप्रति असन्तुष्टि व्यक्त गरिन्। कार्यदलले आवासीय (इन्टर्न) चिकित्सकलाई आठौँ तहका चिकित्सकले पाउने निर्वाह भत्ताको ५० प्रतिशत उपलब्ध गराउन सिफारिस गरेको स्मरण गराउँदै उनले उक्त व्यवस्था तत्काल लागू गर्न सरकारसँग माग गरिन्।
सांसद कार्कीका अनुसार करियरको प्रारम्भिक चरणमा रहेका चिकित्सकहरूले पर्याप्त निर्वाह भत्ता, तोकिएको ड्युटी आवर तथा न्यूनतम आधारभूत सुविधा समेत नपाउँदा उनीहरूको सिकाइ, कार्यक्षमता र मानसिक अवस्थामै नकारात्मक प्रभाव परेको छ। भोक र निद्राको पर्वाह नगरी निरन्तर सेवामा खटिनुपर्ने अवस्थाले स्वास्थ्य सेवाको गुणस्तरमा समेत असर पुग्ने उनले चेतावनी दिइन्।
स्वास्थ्यकर्मीका समस्या समाधानमा थप ढिलाइ नगरी कार्यदलका सिफारिस कार्यान्वयन गर्न तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायले तत्काल आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिइन्।
भदौभित्र स्वास्थ्य बीमाको १५ अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी
बिहीबार, साउन २१, २०८३
इन्टर्नशिप भत्ता बढाउन नसकिने निजी मेडिकल कलेजहरूको दाबी
बिहीबार, साउन २१, २०८३
बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
बिहीबार, साउन २१, २०८३
