नेभिगेशन

फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी

नेपाल हेल्थ न्युज, काठमाडौं । फ्रन्टलाइन हस्पिटलले आधुनिक मुटु उपचार सेवामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी प्रविधिमार्फत पहिलोपटक सफल ओपन हार्ट सर्जरी गरेको छ।

अस्पतालका अनुसार झापा निवासी २२ वर्षीय ब्रह्मदेव ज्वाला सिंहको मुटुमा रहेको जन्मजात प्वाल (एट्रियल सेप्टल डिफेक्ट–एएसडी) शल्यक्रियामार्फत सफलतापूर्वक बन्द गरिएको हो। उक्त शल्यक्रिया वरिष्ठ कार्डियाक सर्जन डा. अनिल भट्टराईको नेतृत्वमा सम्पन्न भएको अस्पतालले जनाएको छ।

अस्पतालले बिरामीको आर्थिक अवस्था कमजोर रहेको मूल्यांकनपछि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ। यसअन्तर्गत शल्यक्रिया, चिकित्सक शुल्क, अस्पताल शुल्क, औषधि, आईसीयू सेवा तथा प्रयोगशाला परीक्षणलगायतका सबै खर्च अस्पतालले व्यहोरेको विज्ञप्तिमा उल्लेख छ।

अस्पतालले आर्थिक अभावका कारण कुनै पनि नागरिक जीवनरक्षक उपचारबाट वञ्चित हुन नहुने आफ्नो विश्वास रहेको उल्लेख गर्दै विपन्न तथा उपचार खर्च वहन गर्न नसक्ने बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।

मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी प्रविधिमा छाती पूर्ण रूपमा नखोली सानो चिरामार्फत शल्यक्रिया गरिने भएकाले बिरामीको पीडा कम हुने, संक्रमणको जोखिम घट्ने तथा छिटो स्वास्थ्य लाभ हुने चिकित्सकहरूको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट