नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधि व्यवस्था विभाग र मातहतका निकायमा कार्यरत तीन जना वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर गर्नुभएको छ।
मन्त्री मेहताले गत १९ साउनमा मन्त्रिस्तरीय निर्णय गर्दै औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक किरणसुन्दर बज्राचार्यलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाउनुभएको छ।
त्यस्तै, राष्ट्रिय औषधि प्रयोगशालामा कार्यरत औषधि व्यवस्थापक संगिता साहलाई औषधि व्यवस्था विभागको वीरगञ्ज शाखामा सरुवा गरिएको छ। वीरगञ्ज शाखाको नेतृत्व गर्दै आउनुभएका औषधि व्यवस्थापक शम्भू साहलाई भने औषधि व्यवस्था विभागमा सरुवा गरिएको छ।
स्वास्थ्य क्षेत्रमा सामान्यतया नवौँ र दशौँ तहका कर्मचारीको सरुवा सचिवस्तरीय निर्णयबाट हुने परम्परा छ। एघारौँ तह वा सोभन्दा माथिका कर्मचारीको सरुवा भने मन्त्रिस्तरीय निर्णयबाट हुने गरेको छ।
तर यसपटक नवौँ तथा दशौँ तहका कर्मचारीको सरुवासमेत मन्त्रीस्तरीय निर्णयबाट भएपछि स्वास्थ्य मन्त्रालय तथा मातहतका कर्मचारी वृत्तमा यसको चर्चा सुरु भएको छ।
मन्त्री मेहताले यसअघि कर्मचारी सरुवाका विषयमा आफ्नो प्रत्यक्ष चासो नरहने बताउँदै आउनुभएको थियो । तर पछिल्लो निर्णयमा तल्लो तहका कर्मचारीको सरुवासमेत मन्त्रिस्तरीय रूपमा भएपछि मन्त्रालयभित्रै यसलाई लिएर विभिन्न टिप्पणी हुन थालेका छन्।
मन्त्रीस्तरीय निर्णयबाट गरिएको उक्त जिम्मेवारी हेरफेरलाई लिएर कर्मचारी वृत्तमा प्रशासनिक अभ्यास र सरुवाको प्रक्रियाबारे समेत प्रश्न उठ्न थालेको छ।
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप दिने
आइतबार, साउन २४, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार प्रमुख पदाधिकारीका लागि खुला आवेदन आह्वान
आइतबार, साउन २४, २०८३
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
