नेपाल हेल्थ न्युज, कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–९, थिर्पुस्थित पलाँता अस्पतालमा चिकित्सक तथा नर्समाथि कुटपिट र अस्पतालमा तोडफोड भएपछि अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ।
शुक्रबार दिउँसो अस्पताल परिसरमै मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि स्थानीय व्यक्तिहरूले हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार स्थानीय मैना बमका दुई छोरासहित केही व्यक्ति अस्पतालको ओपीडी अगाडि बसेर अस्पतालको वाइफाइ प्रयोग गरी मोबाइलमा भिडियो गेम खेलिरहेका थिए। स्वास्थ्य सेवा प्रवाहमा असर परेको भन्दै डा. रैन र नर्स गिरीले उनीहरूलाई अस्पतालबाहिर गएर मोबाइल चलाउन आग्रह गरेपछि विवाद सुरु भएको थियो।
विवाद बढ्दै गएपछि अस्पतालका सुरक्षा गार्डले उनीहरूलाई अस्पताल परिसरबाट बाहिर निकाल्न खोज्दा चिकित्सक तथा नर्समाथि हातपात भएको अस्पताल प्रशासनको भनाइ छ।
घटनामा डा. रैनको आँखाको डिलमा चोट लागेको छ भने नर्स गिरीको पिठ्युँ, निधार र अनुहारमा चोट लागेको जनाइएको छ। महोत्तरी घर भएका डा. रैन करिब १६ महिनादेखि करार सेवामा पलाँता अस्पतालमा कार्यरत छन्।
घटनाका क्रममा अस्पतालका विभिन्न सामानमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ। स्वास्थ्यकर्मीमाथि नै हातपात भएपछि अस्पतालमा सुरक्षित वातावरणमा स्वास्थ्य सेवा सञ्चालन गर्न नसकिएको भन्दै अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको हो।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गर्नुका साथै अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी सामान तोडफोड गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार २०८३ साल साउन २२ गते भएको घटनामा संलग्न आरोपमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश खत्रीले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी निरीक्षक सत्यनारायण चौधरीको कमान्डमा प्रहरी टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
अस्पतालमै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि पलाँता क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित भएको छ। अस्पताल कहिलेबाट पुनः सञ्चालनमा आउने भन्ने विषयमा भने प्रशासनले कुनै निश्चित जानकारी दिएको छैन।
नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
आइतबार, साउन २४, २०८३
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप दिने
आइतबार, साउन २४, २०८३
औषधि व्यवस्था विभागका तीन वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
आइतबार, साउन २४, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार प्रमुख पदाधिकारीका लागि खुला आवेदन आह्वान
आइतबार, साउन २४, २०८३
