नेपाल हेल्थ न्युज, काठमाडौं । १७ वर्षीया किशोरीको डिम्ब तस्करीसँग सम्बन्धित आरोपमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं आईभीएफ चिकित्सक डा. नुतन शर्मासँग प्रहरीले बयान लिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार शर्माको गत बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको हो। उनी प्रहरी परिसरमा उपस्थित भएपछि सरकारी वकिल कार्यालय लगिएको र त्यहीँ घटनाबारे सोधपुछ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार बयानका क्रममा शर्माले आफूबाट कानुनविपरीत कुनै काम नभएको दाबी गरेकी छन्। सबै प्रक्रिया सम्बन्धित व्यक्तिको सहमतिमा भएको उनको भनाइ थियो।
बयानपछि सरकारी वकिल कार्यालयको निर्देशनमा उनलाई हाजिरी जमानीमा छाडिएको प्रहरीको भनाइ छ। शर्मालाई यसअघि घटनासँग जोडेर पक्राउ गर्ने प्रयास भए पनि अदालतबाट दुई पटकसम्म पक्राउ पुर्जीको अनुमति नपाएको प्रहरीको दाबी छ।
यस प्रकरणमा शर्मासँगै राधिका गोतामे नामकी युवतीलाई प्रहरीले पक्राउ गरेको थियो। गोतामेमाथि पीडित किशोरी र आईभीएफ सेन्टरबीच मध्यस्थकर्ताको भूमिका खेलेको आरोप छ। उनलाई पनि सरकारी वकिल कार्यालयको निर्देशनपछि हाजिरी जमानीमा रिहा गरिएको छ।
अनुसन्धानका क्रममा गोतामेको मोबाइलमा शर्माबाट रकम पठाइएको विवरणसमेत भेटिएको प्रहरी स्रोतले जनाएको छ। सन् २०२५ डिसेम्बर २१ र २२ मा शर्माले गोतामेको खातामा ५०–५० हजार रुपैयाँ पठाएको देखिएको बताइएको छ।
प्रहरीका अनुसार यसअघि पनि गोतामेमार्फत युवतीहरूलाई डिम्ब झिकाउने प्रक्रियामा सहभागी गराइएको हुन सक्ने आशंका छ। पछिल्लो घटनामा समेत शर्माबाट गोतामेलाई ५० हजार रुपैयाँ पुगेको र त्यसबाट किशोरीलाई ३० हजार रुपैयाँ मात्र दिइएको अनुसन्धानबाट खुलेको दाबी प्रहरीको छ।
आर्थिक प्रलोभनमा पारेर आफ्नो डिम्ब झिकिएको भन्दै पीडित १७ वर्षीया किशोरीले डा. शर्मासहित संलग्न व्यक्तिविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्।
घटना सार्वजनिक भएपछि डा. शर्मा विदेश गएको र पछि नेपाल फर्किएपछि प्रहरीले बयान लिएको हो। हाल उनी पक्राउबिना बयान दिएर हाजिरी जमानीमा बाहिरिएकी छन्। घटनाबारे प्रहरी अनुसन्धान भने जारी रहेको जनाइएको छ।
नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
आइतबार, साउन २४, २०८३
चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
आइतबार, साउन २४, २०८३
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप दिने
आइतबार, साउन २४, २०८३
औषधि व्यवस्था विभागका तीन वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
आइतबार, साउन २४, २०८३
