नेपाल हेल्थ न्युज, काठमाडौं । घरमै स्वास्थ्य सेवा लिन चाहने बिरामीलाई लक्षित गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड र हेल्थ एट होमबीच सहकार्य भएको छ ।
सहकार्यअनुसार अब नर्भिक अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोलीले आवश्यकताअनुसार बिरामीको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछ । सेवा लिन चाहने बिरामी तथा परिवारले हेल्थ एट होमको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
सम्झौताअनुसार बिरामीले घरमै होम नर्सिङ, चिकित्सकीय परामर्श, फिजियोथेरापी तथा पुनर्स्थापना सेवा, ल्याब परीक्षणका लागि नमुना संकलन, पोस्ट–अपरेटिभ केयर, आवश्यक फलोअप तथा मासिक स्वास्थ्य परीक्षणलगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।
घरमै स्वास्थ्य सेवा लिइरहेका बिरामीलाई थप विशेषज्ञ उपचार वा अस्पताल भर्ना आवश्यक देखिएमा नर्भिक इन्टरनेशनल हस्पिटलमा उचित रेफरल तथा समन्वयको व्यवस्था गरिने जनाइएको छ । यसले बिरामीको अवस्थाअनुसार समयमै आवश्यक उपचार तथा विशेषज्ञ सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।
सहकार्यबाट विशेषगरी अस्पतालबाट डिस्चार्ज भएपछि नियमित हेरचाह आवश्यक पर्ने बिरामी, ज्येष्ठ नागरिक, दीर्घरोगी, शल्यक्रियापछि पुनर्स्थापनामा रहेका तथा अस्पतालसम्म पुग्न कठिन हुने बिरामी लाभान्वित हुने विश्वास गरिएको छ ।
सहकार्यअन्तर्गत दुवै संस्थाबीच स्वास्थ्यकर्मीको तालिम, ज्ञान तथा अनुभव आदान–प्रदान र बिरामीको हेरचाहसम्बन्धी आवश्यक समन्वयसमेत गरिने नर्भिकले जनाएको छ ।
वीर अस्पतालमा शिक्षाध्यक्ष, रजिष्ट्रार र डीनका लागि दरखास्त आह्वान
मंगलबार, साउन २६, २०८३
चार महिनादेखि पदाधिकारीविहीन वीर अस्पताल, खरिद प्रक्रिया ठप्प
मंगलबार, साउन २६, २०८३
ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने
मंगलबार, साउन २६, २०८३

