नेपाल हेल्थ न्युज, काठमाडौं। आर्थिक प्रलोभनमा पारी १७ वर्षीया बालिकालाई डिम्ब निष्कासन प्रक्रियामा संलग्न गराइएको गम्भीर घटना प्रतिनिधि सभा बैठकमा उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद स्मृति सेञ्चुरीले मंगलबार प्रतिनिधि सभा बैठकमा उक्त घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सांसद सेञ्चुरीका अनुसार गत साउन १४ गते ती बालिकालाई ३० हजार रुपैयाँ दिने प्रलोभन देखाई राधिका गोतामे, प्रासन अधिकारी र डाक्टर नूतन शर्मा लगायतको समूहले डिम्ब निष्कासन प्रक्रियामा संलग्न गराएको आरोप छ।
उनका अनुसार बालिकाको महिनावारी चक्र ट्र्याक गरी १० दिनसम्म हर्मोनल इन्जेक्सन दिइएको थियो। त्यसपछि अल्ट्रासाउण्डको माध्यमबाट डिम्ब निकालिएको सांसद सेञ्चुरीले संसद्मा जानकारी गराइन्।
डिम्ब निकालिएपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको बताइएको छ। उनी बेहोस हुने, हिँडडुल गर्न नसक्ने, पेट तथा कम्मर दुख्ने र वान्ता हुनेजस्ता समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकहरूले स्वास्थ्य परीक्षणका क्रममा बालिकाको डिम्ब निकालिएको पुष्टि गरेको सांसद सेञ्चुरीले बताइन्।
घटनाबारे पीडित पक्षले जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत उजुरी दिएको जनाइएको छ। उजुरीका आधारमा केही व्यक्ति पक्राउ परे पनि उनीहरूलाई सामान्य जिम्मा–जमानीमा छाडिएको सांसद सेञ्चुरीको दाबी छ।
पक्राउ परेकाहरूले हाल विभिन्न माध्यमबाट पीडित पक्षलाई धम्की दिइरहेको आरोपसमेत उनले लगाएकी छन्। सांसद सेञ्चुरीले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी संलग्न दोषीलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गरेकी छन्। उनले दोषीमाथि हदैसम्मको कानुनी कारबाही गरी पीडित बालिकालाई न्याय र आवश्यक संरक्षण उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन्।
स्वास्थ्य बीमा बोर्डले हटायो १८७ प्रकारका औषधि, बिरामीलाई कस्तो असर पर्छ ?
बुधबार, साउन २७, २०८३
चिकित्सा शिक्षा सुधारको माग गर्दै आवासीय र इन्टर्न चिकित्सकले गरे आन्दोलनको घोषणा
बुधबार, साउन २७, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० स्टाफ नर्ससहित ४६ पदमा दरखास्त आह्वान
बुधबार, साउन २७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
मंगलबार, साउन २६, २०८३
