नेभिगेशन

आज विश्व अंगदान दिवस मनाइँदै

नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व अंगदान दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। मृत्युपछि आफ्ना अंगदान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिन सकिने मानवीय भावनाबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष अगस्ट १३ मा यो दिवस मनाउने गरिन्छ।

दिवसको अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायत विभिन्न स्वास्थ्य संस्थाले अंगदानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्। नेपालमा अंग प्रत्यारोपणका लागि कानुनी तथा प्राविधिक आधार विस्तार हुँदै गए पनि आवश्यकताअनुसार अंग उपलब्ध हुन नसक्दा धेरै बिरामी प्रत्यारोपणको प्रतीक्षामा छन्।

विशेषगरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्ने अभ्यास नेपालमा अझै न्यून छ। परिवारमा रहेको सामाजिक तथा धार्मिक भ्रम, अंगदानसम्बन्धी पर्याप्त जानकारीको अभाव र अस्पतालबीचको कमजोर समन्वयलाई अंगदान विस्तारका प्रमुख चुनौतीका रूपमा लिइएको छ।

नेपालमा हुने अधिकांश मिर्गौला प्रत्यारोपण अहिले पनि जीवित नजिकका आफन्तबाट प्राप्त अंगमा निर्भर छ। अंगको अभावका कारण मिर्गौलासहित विभिन्न महत्वपूर्ण अंगको समस्या भएका धेरै बिरामी प्रत्यारोपणको पर्खाइमा छन्।

यद्यपि आँखाको नानी दानमा भने नेपालले उल्लेख्य सफलता हासिल गरेको छ। नेपाल आँखा बैंकमार्फत हजारौँ आँखाका नानी संकलन तथा प्रत्यारोपण भइसकेका छन्। यसबाट दृष्टिविहीन व्यक्तिले नयाँ दृष्टि पाउने अवसर प्राप्त गरेका छन्।

सरकारले मृत्युपछि अंगदान गर्ने परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग तथा अंगदान प्रक्रियामा सहयोग गर्ने अस्पताललाई ७५ हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ।

विज्ञहरूले नेपालमा अंगदानको संस्कृति विकास गर्न मस्तिष्क मृत्युपछिको अंगदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार अंगदानसम्बन्धी भ्रम हटाउँदै परिवार, स्वास्थ्य संस्था र समुदायमा प्रभावकारी जनचेतना विस्तार गर्न सके अंग अभावका कारण प्रत्यारोपणको प्रतीक्षामा रहेका धेरै बिरामीलाई नयाँ जीवन दिन सकिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ