नेभिगेशन

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका विभिन्न मेडिकल कलेजमा कार्यरत रेजिडेन्ट तथा इन्टर्न चिकित्सकहरूले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले चिकित्सकहरूले अघि सारेका माग जायज रहेको भन्दै ती माग यथाशीघ्र सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेको छ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा रेजिडेन्ट तथा इन्टर्न चिकित्सकहरूको आन्दोलनका विषयमा सरकार, मेडिकल कलेज, आन्दोलनरत चिकित्सक तथा अन्य सरोकारवालासँग निरन्तर छलफल र संवाद भइरहेको जनाएको छ। प्रेस विज्ञप्तिमा संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले हस्ताक्षर गरेका छन्।

लोकतान्त्रिक समाजमा आन्दोलनका क्रममा उठाइएका जायज मागको उचित सुनुवाइ हुनुपर्नेमा जोड दिँदै संघले सबै पक्षलाई संवाद र सहमतिमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ।

संघले सरकारले यसअघि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न आन्दोलनका क्रममा गरेका सहमतिहरूलाई एकीकृत गरी कानुनी हैसियतसहित कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। विगतमा भएका सहमति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्रै यस्ता समस्या पटक–पटक दोहोरिन नदिने वातावरण बन्ने संघको धारणा छ।

आन्दोलनरत चिकित्सकका माग सम्बोधनका लागि सहजीकरण गर्न तथा सहमतिको वातावरण निर्माण गर्न नेपाल चिकित्सक संघ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट