नेभिगेशन

स्वास्थ्य मन्त्रालयको नाम फेरि परिवर्तन हुने

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन गरेर ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय’ बनाएको केही समयमै फेरि नाम परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समाहित भएपछि मन्त्रालयको नामबाट ‘जनसंख्या’ हटाएर ‘खाद्य स्वच्छता’ राखिएको थियो। सोहीअनुसार नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार गरी स्वीकृत गरिएको थियो भने नयाँ संगठन संरचनाअनुसार दरबन्दी मिलानको कामसमेत अघि बढाइएको थियो।

तर, नयाँ अर्गानोग्रामअनुसार दरबन्दी मिलानको काम टुंगिन नपाउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई स्वास्थ्य मन्त्रालयबाट विज्ञान , प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सारिएको छ।

सरकारले स्वीकृत गरेको कार्य विस्तृतीकरणमा समेत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गत राखिएको उल्लेख छ। विभाग नै अर्को मन्त्रालयमा पुगेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल स्वीकृत संगठन संरचना र नाम दुवै पुनः परिवर्तन गर्नुपर्ने अवस्था आएको मन्त्रालयले जनाएको छ।

विभाग अर्को मन्त्रालयमा सारिएसँगै ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय’ नाम कायम राख्नुको औचित्यमाथि समेत प्रश्न उठेको छ। मन्त्रालयभित्र नयाँ नामबारे विभिन्न विकल्पमा छलफल सुरु भएको सहसचिव दिवस आचार्यले बताएका छन्।

उनका अनुसार मन्त्रालयभित्र भने नयाँ नाम राख्नुभन्दा पुरानै ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’ नाम कायम राख्नुपर्ने धारणा बलियो देखिएको छ। नयाँ नाममा अभ्यस्त भइनसकेको अवस्थामा पुरानै नामलाई निरन्तरता दिँदा प्रशासनिक रूपमा समेत सहज हुने धेरैको राय रहेको उनले बताए।

नयाँ ओएनएमअनुसार दरबन्दी मिलानको काम अघि बढिसकेको अवस्थामा फेरि मन्त्रालयको नाम र संगठन संरचना परिवर्तन गर्नुपर्ने भएपछि यसको प्रशासनिक तथा व्यवस्थापकीय असर पर्ने देखिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गत सारिएसँगै स्वास्थ्य मन्त्रालयको संगठन संरचना पुनरावलोकन गर्नुपर्ने भएको छ। यसले केही समयअघि मात्रै गरिएको संगठन पुनर्संरचनाको प्रक्रिया पुनः सुरु गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ