नेभिगेशन

स्वास्थ्य बीमा सञ्चालन गर्न रञ्जु दर्शनाको सरकारसँग आग्रह

नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद दर्शनाले स्वास्थ्य बीमा रोकिँदा तथा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको बताइन्। उनले जसरी भए पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरिन्।

सांसद दर्शनाले काठमाडौंको थापाथलीमा फोहोर प्रशोधन केन्द्र निर्माण गर्न लागिएको विषयमा समेत आपत्ति जनाइन्। परोपकार प्रसूति गृहको पछाडि फोहोर प्रशोधन केन्द्र निर्माण गर्न लागिएको भन्दै उनले स्थानीयले विरोध गरिरहेको सदनलाई जानकारी गराइन्।

आमा र बच्चाको स्वास्थ्यका लागि संवेदनशील क्षेत्र भएकाले प्रसूति गृह नजिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने विषयमा सरकारले गम्भीरतापूर्वक विचार गर्नुपर्ने उनको भनाइ थियो। उनले स्थानीयको विरोधलाई सम्बोधन गर्दै जनस्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

त्यस्तै, सांसद दर्शनाले बैंक तथा वित्तीय संस्थामा सुन धितो राखेर ऋण लिएका नागरिकको समस्या पनि सदनमा उठाइन्। गत भदौ २४ गतेको घटनामा धितो राखिएको सुन लुटिएपछि पीडितहरूले न सुन फिर्ता पाएको न त्यसको रकम प्राप्त गर्न सकेको भन्दै उनले उनीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरिन्।

दर्शनाले स्वास्थ्य बीमा, थापाथलीको फोहोर प्रशोधन केन्द्र र सुन धितोसम्बन्धी समस्यामा सरकार गम्भीर भएर नागरिकका गुनासा सम्बोधन गर्नुपर्ने बताएकी हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ