नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त भएकी छन् । परिषद्को उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा नियुक्त भएका छन् ।
नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा परिषद्का सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । परिषद्को सदस्यमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिशकुमार देव, धर्मागत भट्टराई र रबा थापा नियुक्त भएका छन् ।
नवनियुक्त अध्यक्ष डा. बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन् । उनी बालरोग विशेषज्ञसँगै अध्यापन र स्वास्थ्य अनुसन्धानको क्षेत्रमा समेत सक्रिय छिन् ।
डा. बस्नेतले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस तथा त्रिभुवन विश्वविद्यालयबाट बालरोग विषयमा एमडी गरेकी छन् । उनले नर्वेको युनिभर्सिटी अफ बर्गेनस्थित सेन्टर फर इन्टरनेसनल हेल्थबाट पीएचडीसमेत गरेकी छन् ।
यसैगरी उपाध्यक्ष डा. महोत्रा महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजीका प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन् । उनले चिकित्सा शास्त्र अध्ययन संस्थानबाट क्लिनिकल फिजियोलोजीमा एमडी गरेका हुन् ।
डा. महोत्राले यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक समीक्षा समिति (एथिकल बोर्ड) मा रहेर स्वास्थ्य अनुसन्धानसँग सम्बन्धित विभिन्न काममा समेत भूमिका निर्वाह गरेका थिए ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त
बुधबार, भदौ ३, २०८३
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
बुधबार, भदौ ३, २०८३
भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी बच्ने ?
मंगलबार, भदौ २, २०८३

