नेभिगेशन

डेंगु सङ्क्रमितको संख्या २८ सय ४४ पुग्यो, २ जनाको मृत्यु

नेपाल हेल्थ न्युज, काठमाडौं । देशभर डेंगु संक्रमणको अवस्था थप गम्भीर बन्दै गएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुसदेखि हालसम्म २ हजार ८४४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

महाशाखाको पछिल्लो स्थिति प्रतिवेदनअनुसार संक्रमणका कारण हालसम्म दुई जनाको मृत्यु भएको छ। डेंगु संक्रमण देशका ७४ जिल्लामा फैलिएको जनाइएको छ।

प्रदेशगत विवरणमा गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ। त्यहाँ १ हजार १० जनामा संक्रमण पुष्टि भएको छ। कोशी प्रदेशमा ६७४, लुम्बिनीमा ४३५ र बागमती प्रदेशमा ४२७ जना संक्रमित भएका छन्। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा १२२ जना तथा मधेस र कर्णाली प्रदेशमा समान ८८र८८ जनामा डेंगु संक्रमण देखिएको छ।

जिल्लागत तथ्यांकअनुसार बागलुङमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। बागलुङमा ४७० जनामा संक्रमण पुष्टि हुँदा झापामा २०८, सुनसरीमा २०५, कास्कीमा १७८ र पाल्पामा १२६ जना संक्रमित भएका छन्।

डेंगुको जोखिम बढेसँगै स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको टोकाइबाट जोगिन सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

स्वास्थ्य निकायले घर, कार्यालय तथा सार्वजनिक क्षेत्र आसपास पानी जम्न नदिन, पानी जम्ने खाल्डाखुल्डी पुर्न र पानी राख्ने भाँडालाई छोपेर राख्न सुझाव दिएको छ।

त्यसैगरी, लामखुट्टेको टोकाइबाट बच्न शरीर ढाक्ने कपडा लगाउने, आवश्यकताअनुसार झुल प्रयोग गर्ने तथा खुला छालामा लामखुट्टे भगाउने पदार्थ प्रयोग गर्न पनि आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट