नेभिगेशन

मेलानोमा दोहोरिनबाट रोक्ने खोपको परीक्षण सफल, क्यान्सर उपचारमा नयाँ आशा

नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि कम्पनी मर्क र मोडेर्नाले विकास गरेको व्यक्तिगत क्यान्सर खोपले मेलानोमा भएका बिरामीमा क्यान्सर पुनः देखिने जोखिम घटाउन सक्ने प्रारम्भिक परीक्षणले देखाएको छ। वैज्ञानिकहरूले यसलाई क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि तथा ‘ऐतिहासिक क्षण’का रूपमा व्याख्या गरेका छन्।

‘इन्टिसमेरान’ नामक उक्त खोपलाई मेलानोमाको उपचारमा प्रयोग हुँदै आएको इम्युनोथेरापी औषधि ‘कीट्रडा’सँग संयोजन गरेर बिरामीलाई दिइएको थियो। कम्पनीहरूका अनुसार कीट्रडा मात्र प्रयोग गर्ने बिरामीको तुलनामा खोप र औषधि दुवै प्रयोग गर्ने बिरामी लामो समयसम्म क्यान्सरमुक्त रहेको पाइएको छ।

तेस्रो चरणको परीक्षणमा उच्च जोखिमयुक्त दोस्रो, तेस्रो र चौथो चरणको मेलानोमा भएका १ हजारभन्दा बढी बिरामी सहभागी थिए। परीक्षणमा शल्यक्रियापछि बिरामीलाई व्यक्तिगत रूपमा तयार गरिएको खोप दिइएको थियो।

यो खोप एमआरएनए प्रविधिमा आधारित छ। खोप बनाउन बिरामीको ट्युमरको सानो नमुना लिएर त्यसमा रहेका विशेष आनुवंशिक परिवर्तन पहिचान गरिन्छ। त्यसका आधारमा प्रत्येक बिरामीको ट्युमरअनुसार फरक खोप तयार गरिन्छ। खोपले शरीरको प्रतिरोधी प्रणालीलाई क्यान्सरका विशेष कोष पहिचान गरी आक्रमण गर्न सक्रिय बनाउने उद्देश्य राख्छ।

मर्क र मोडेर्नाले प्रारम्भिक नतिजामा खोप र कीट्रडा संयोजनले क्यान्सर पुनः देखा पर्ने तथा शरीरका अन्य भागमा फैलिने जोखिम घटाएको बताएका छन्। यद्यपि कम्पनीहरूले हालसम्म क्यान्सरमुक्त रहने समय कति बढ्यो भन्ने विस्तृत तथ्याङ्क सार्वजनिक गरेका छैनन्।

क्यान्सरसम्बन्धी विज्ञहरूले नतिजालाई उत्साहजनक भने पनि पूर्ण अध्ययन सार्वजनिक नभएसम्म सावधानी अपनाउनुपर्ने बताएका छन्। क्यान्सर रिसर्च यूकेकी टालिसिआ क्वालोले अनुसन्धानबाट आफूहरू आशावादी भएको बताउँदै अन्तरिम तथ्याङ्कको पूर्ण समीक्षा हुन बाँकी रहेको उल्लेख गरेकी छन्।

अक्सफोर्ड विश्वविद्यालयका मेडिकल अन्कोलोजिस्ट लेनर्ड लीले भने यो नतिजा मेलानोमा भएका बिरामीका लागि मात्रै नभई व्यक्तिगत रूपमा तयार गरिएका क्यान्सर खोपको अवधारणाकै लागि महत्वपूर्ण भएको बताएका छन्।

मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफन बान्सेलले पनि नतिजालाई क्यान्सर अनुसन्धानमा ‘निर्णायक क्षण’का रूपमा वर्णन गरेका छन्। मर्क र मोडेर्नाले फोक्सो, मूत्राशय तथा मिर्गौलाको क्यान्सरका लागि पनि यस्तै व्यक्तिगत खोपको परीक्षण अघि बढाइरहेका छन्।

यद्यपि खोपको प्रयोग व्यापक रूपमा सुरु गर्न नियामक निकायको स्वीकृति आवश्यक हुनेछ। बेलायतमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)मार्फत उपलब्ध गराउन थप मूल्याङ्कन र अनुमति प्रक्रिया पूरा गर्नुपर्नेछ।  एजेन्सी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट