नेभिगेशन

त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चाको एनिमियाको सफल उपचार

नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चामा देखिएको एनिमिया (रगतको कमी) को उपचार गरिएको छ। चिकित्सकका अनुसार नेपालमा गर्भमै रहेको बच्चाको एनिमियाको उपचार गरिएको यो पहिलो घटना हो।

६ महिनाको गर्भवतीको नियमित अल्ट्रासाउन्ड गर्ने क्रममा गर्भमा रहेको बच्चामा रगतको कमी भएको पत्ता लागेको रेडियोलोजिष्ट डा. प्रदिपराज रेग्मीले जानकारी दिए। समस्या पहिचान भएपछि साल (प्लासेण्टा) बाट रगत निकालेर परीक्षण गरिएको थियो।

परीक्षणमा बच्चामा एनिमिया देखिएपछि सालकै माध्यमबाट ओ नेगेटिभ रक्त चढाइएको डा. रेग्मीले बताए। उनका अनुसार उपचारपछि अहिले गर्भमा रहेको बच्चा आठ महिनाको भइसकेको छ।

६ महिनाको गर्भवतीको अल्ट्रासाउन्ड गर्दा बच्चामा समस्या देखिएको हो। त्यसपछि सालबाट रगत निकालेर परीक्षण गर्‍यौं,’ डा. रेग्मीले भने, ‘रगतको कमी भएको पत्ता लागेपछि सालकै माध्यमबाट ओ नेगेटिभ रगत दिएका हौं। अहिले पेटको बच्चा आठ महिना पुगेको छ।’

डा. रेग्मीका अनुसार आमाको पटक–पटक गर्भ खेर गएको अवस्थामा गर्भमा रहेको बच्चामा एनिमिया हुने जोखिम हुन सक्छ। यस्तै, यो समस्या वंशाणुगत कारणले पनि हुन सक्ने र आमामा एनिमिया भएमा त्यसको असर गर्भमा रहेको बच्चामा समेत पर्न सक्ने उनले बताए।

उपचारमा डा. रेग्मीसहित रेडियोलोजी एन्ड इन्टरभेन्सन विभागका डा. दिनेश चटौत, एनेस्थेसिया, मेडिसिन तथा प्रसूति विभागका चिकित्सक र स्वास्थ्यकर्मी सहभागी थिए।

चिकित्सकहरूले गर्भमै रहेको बच्चाको अवस्था पहिचान गरी आवश्यक अवस्थामा सालको माध्यमबाट उपचार गर्न सकिने यो विधि जटिल अवस्थामा महत्वपूर्ण हुन सक्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट