नेपाल हेल्थ न्युज, जनकपुरधाम । जनकपुरस्थित जनकपुर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा कार्यरत चिकित्सक डा. शशी शेखर अधिकारीमाथि कुटपिट भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
नेपाल चिकित्सक संघका अनुसार २०८३ साल भदौ ६ गते चिकित्सक अधिकारी कार्यरत रहेकै समयमा एक समूहले स्वास्थ्य संस्थामा प्रवेश गरी उनीमाथि हातपात गरेको थियो। सो क्रममा उनका बुबामाथि समेत हातपात गरी गम्भीर घाइते बनाइएको संघको भनाइ छ।
स्वास्थ्य सेवा प्रवाहमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको उक्त घटनाको संघले घोर भर्त्सना गरेको छ। स्वास्थ्यकर्मीमाथि हुने यस्ता आक्रमणले समग्र स्वास्थ्य क्षेत्रलाई नै आतंकित बनाउने संघले जनाएको छ।
घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न नेपाल चिकित्सक संघले सम्बन्धित निकायसँग माग गरेको छ।
संघले स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा सेवा प्रदान गर्ने अवस्था सुनिश्चित गर्न तथा दोषीमाथि तत्काल कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा घटनाप्रति संघको गम्भीर चासो व्यक्त गरिएको छ।

सहमति कार्यान्वयन नभए पुनः आमरण अनशन बस्ने इन्टर्न चिकित्सकहरूको चेतावनी
सोमबार, भदौ ८, २०८३
एचआइभी परीक्षण गर्दा भेरी अस्पतालमा ८३ नयाँ संक्रमित भेटिए
सोमबार, भदौ ८, २०८३
स्वास्थ्य मन्त्रालयका सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
सोमबार, भदौ ८, २०८३
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
सोमबार, भदौ ८, २०८३
