नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत ११५ वटा सेवा प्रदायक अस्पताललाई गत असार महिनाको उपचार खर्चबापत २७ करोड रुपैयाँभन्दा बढी सोधभर्ना गरेको छ ।
बोर्डका अनुसार डायलासिस, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सरलगायत रोगको उपचारबापत सेवा प्रदायक स्वास्थ्य संस्थालाई २७ करोड १४ लाख २२ हजार ११७ रुपैयाँ १८ पैसा सोधभर्ना गरिएको हो ।
बोर्डको गत भदौ ५ गतेको निर्णयअनुसार सेवा प्रदायक अस्पतालबाट प्राप्त कागजातको परीक्षण तथा दाबी यकिन गरी स्वीकृत भएको रकम सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा पठाइएको हो ।
विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि दिइने औषधि उपचार खर्च सोधभर्ना गर्ने जिम्मेवारी यसअघि स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले सम्हाल्दै आएको थियो । पछिल्लो समय उक्त जिम्मेवारी स्वास्थ्य बीमा बोर्डले सम्हाल्दै आएको छ ।
आर्थिक तथा जनशक्ति अभावका कारण लामो समयदेखि दाबी भुक्तानी तथा सोधभर्ना प्रक्रियामा समस्या झेल्दै आएको बोर्डले पछिल्लो समय बक्यौता रकम फरफारक गर्न थालेको जनाएको छ ।
बोर्डका प्रवक्ता डा. पवन शाहका अनुसार स्वास्थ्य बीमा सेवा उपलब्ध गराएका स्वास्थ्य संस्थाको फागुनसम्मको हिसाब क्लियर भइसकेको छ । बाँकी पाँच महिनाको रकम पनि छिट्टै सोधभर्ना गर्ने गरी काम अघि बढाइएको उनले बताए ।
‘पहिले रकम पनि थिएन, दाबी भुक्तानीको परीक्षण गर्ने जनशक्ति पनि थिएन । अहिले हामीकहाँ करिब ५५ जना जनशक्तिले दैनिक दाबी भुक्तानीको परीक्षण गरिरहेका छन्,’ उनले भने, ‘सरकारले बजेट पनि १५ अर्ब रुपैयाँ छुट्याएको अवस्था छ । यसले सोधभर्नाका लागि केही सहज हुनेछ । डिजिटल सिस्टममा समेत धेरै सुधार आइरहेकोले कामहरू सजिलो हुँदै गएको छ ।’
स्वास्थ्य बीमा कार्यक्रम २०७२ चैत २५ गते कैलालीबाट सुरु भएको थियो । अहिले यो कार्यक्रम देशभर विस्तार भइसकेको छ । यद्यपि स्वास्थ्य बीमा सेवाको प्रभावकारिता, सेवा प्राप्तिमा हुने ढिलाइ तथा अन्य विषयमा नागरिकका गुनासा भने अझै कायमै छन् ।
आईभीएफका नाममा डिम्ब तस्करी बढेको भन्दै ओरेकद्वारा तत्काल कानुनी नियमनको माग
मंगलबार, भदौ ९, २०८३
बीपी प्रतिष्ठानका तीन प्रमुख पदमा १४ उम्मेदवार अन्तर्वार्ताका लागि छनोट
मंगलबार, भदौ ९, २०८३
आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिका मिलेर काम गर्ने सहमति
सोमबार, भदौ ८, २०८३
सहमति कार्यान्वयन नभए पुनः आमरण अनशन बस्ने इन्टर्न चिकित्सकहरूको चेतावनी
सोमबार, भदौ ८, २०८३
