नेपाल हेल्थ न्युज, भद्रपुर । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालले प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्ने तयारी अघि बढाएको छ। आवश्यक भौतिक संरचना र जनशक्ति अस्पतालमै उपलब्ध रहेको जनाउँदै व्यवस्थापनले आगामी शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेको हो।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले नर्सिङ कलेज सञ्चालनका लागि २०८२ भदौ ५ गते निर्णय गरिसकेको छ। कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट समेत कार्यक्रम सञ्चालनका लागि सिफारिस प्राप्त भइसकेको अस्पतालले जनाएको छ।
नर्सिङ कलेजका लागि अस्पतालको पुरानो भवन प्रयोग गर्ने तयारी गरिएको छ। नयाँ भवनबाट अस्पतालको सेवा सञ्चालन भएपछि प्रयोगविहीन बनेको पुरानो संरचनामा १४ वटा कोठा, चार प्रयोगशाला र पुस्तकालय रहेको अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत सुजता पौडेलले बताउनुभयो। विद्यार्थीका लागि छात्रावास निर्माण गर्ने योजना पनि अघि सारिएको छ।
अस्पतालमा हाल १२४ भन्दा बढी शय्या र करिब ९० जना नर्सिङ जनशक्ति कार्यरत छन्। प्रस्तावित शैक्षिक कार्यक्रमका लागि १३ जना नर्सिङ जनशक्ति छुट्याउने तयारी गरिएको छ। विद्यार्थी संख्या भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले निर्धारण गर्ने कोटाका आधारमा तय गरिने अस्पतालले जनाएको छ।
सरकारी अस्पतालमै नर्सिङ शिक्षा उपलब्ध भएपछि पूर्वी नेपालका विद्यार्थीलाई अध्ययनमा सहज हुने अपेक्षा अस्पतालको छ। निजी संस्थामा तुलनात्मक रूपमा महँगो शुल्क तिरेर अध्ययन गर्नुपर्ने अवस्थालाई सरकारी कार्यक्रमले केही हदसम्म सम्बोधन गर्ने अस्पतालका अधिकारीहरूको भनाइ छ। यसबाट स्थानीय तथा क्षेत्रीय स्तरमा आवश्यक नर्सिङ जनशक्ति उत्पादन गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्बन्धन तथा सञ्चालनको प्रक्रिया अघि बढाउने क्रममा अस्पतालको टोलीले गत साउन २१ गते कोशी प्रदेशका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग भेट गर्नुभएको थियो। टोलीमा यस क्षेत्रका संघीय सांसद प्रकाश पाठकसहित अस्पतालका प्रतिनिधिहरुको सहभागी थियो।
टोलीले सीटीईभीटीले तोकेको शुल्क तथा मापदण्डअनुसार कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्ने अनुमति र स्थलगत निरीक्षणको प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो।
अस्पतालका अनुसार सीटीईभीटीको उपाध्यक्ष पद रिक्त रहेकाले नयाँ नियुक्तिपछि बोर्ड बैठकमार्फत प्रस्ताव अघि बढाउने विषयमा पनि छलफल भएको छ। आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित सरकारी निकायबाट स्वीकृति लिने तयारी रहेको नर्सिङ अधिकृत पौडेलले बताउनुभयो।
प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले समेत भद्रपुरमा नर्सिङ कलेज सञ्चालनका लागि सम्बन्धित संघीय मन्त्रीहरूसँग छलफल गर्दै आवश्यक सहजीकरण गरिरहनुभएको अस्पतालले जनाएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताका अनुसार पुरानो भवनलाई कलेज सञ्चालनका लागि उपयोग गर्न सकिने पर्याप्त आधार छ। कक्षाकोठा, प्रयोगशाला तथा अन्य आवश्यक संरचना सोही भवनबाट व्यवस्थापन गर्न सकिने उहाँको भनाइ छ।
सम्बन्धित निकायबाट स्वीकृति र आवश्यक प्रक्रिया समयमै पूरा भए आगामी शैक्षिक वर्षदेखि भद्रपुर प्रादेशिक अस्पतालमै प्रमाणपत्र तहको नर्सिङ अध्ययन सुरु गर्ने अस्पतालको लक्ष्य छ।
रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धार र स्वास्थ्य सेवा तीव्र बनाइँदै
बुधबार, भदौ १०, २०८३
१० जिल्लामा डेंगी संक्रमण फैलिँदा दुई जनाको मृत्यु
बुधबार, भदौ १०, २०८३
औषधि व्यवस्था विभागको महानिर्देशकमा पुनः भरत भट्टराई
बुधबार, भदौ १०, २०८३

