नेपाल हेल्थ न्युज, रसुवा । चीनको तिब्बततर्फबाट रसुवागढी नाका हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा जिल्लामा कार्यरत १२ जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारीहरू अझै सम्पर्कविहीन रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ।
जनस्वास्थ्य कार्यालय, रसुवाले भदौ १३ गते सार्वजनिक गरेको विवरणअनुसार भदौ १० गते आएको बाढीका कारण सम्पर्कविहीन हुनेमा स्थानीय तह, बागमती प्रदेश र संघअन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरू रहेका छन्।
सम्पर्कविहीन हुनेमा रुकुम पश्चिमका खम्बु बोहोरा, मनोसामाजिक परामर्शकर्ता कोपिला केसी, गोसाईंकुण्ड–२ टिमुरेका विजयकुमार घले, गोरखाकी सुस्मिता पाण्डे, गोसाईंकुण्ड–२ टिमुरेका कर्मा हिसि घले र कालिकोटकी सरिता मल्ल रहेका छन्। उनीहरू विभिन्न स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थामा कार्यरत थिए।
त्यस्तै, रसुवागढी हेल्थ डेस्कमा कार्यरत सर्लाहीका गोबिन्द यादव र जाजरकोटकी स्टाफ नर्स ललिता देवी कुमाई पनि सम्पर्कविहीन रहेको कार्यालयले जनाएको छ। यादव बागमती प्रदेशअन्तर्गत र कुमाई संघअन्तर्गत कार्यरत कर्मचारी हुन्।
उत्तरगया गाउँपालिकाअन्तर्गत कार्यरत जनस्वास्थ्य निरीक्षक बलराम न्यौपाने, जनस्वास्थ्य अधिकृत प्रदिप न्यौपाने र विद्यालय नर्स ममता श्रेष्ठ पनि सम्पर्कमा नआएको विवरणमा उल्लेख छ। श्रेष्ठ आफ्ना श्रीमान्, दुई वर्षीय छोरा र चार वर्षीया छोरीसहित सम्पर्कविहीन रहेको जनाइएको छ।
त्यसैगरी, उत्तरगया गाउँपालिकाको मैलुङ्ग सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत डोल्पाकी अ.न.मि. दिनिशा शाही पनि हालसम्म सम्पर्कविहीन रहेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार सम्पर्कविहीन रहेका केही स्वास्थ्यकर्मीहरू बालबालिकासहित रहेको उल्लेख गरिएको छ। कोपिला केसी सात महिनाको बच्चासहित, सुस्मिता पाण्डे दुई वर्षको बच्चासहित, सरिता मल्ल तीन वर्षको बच्चासहित र ललिता देवी कुमाई आठ महिनाको बच्चासहित सम्पर्कविहीन छन्।
जनस्वास्थ्य कार्यालय रसुवाले सम्पर्कविहीन स्वास्थ्यकर्मीहरूको विवरण सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरेको जनाएको छ।
बाढीपछि रसुवाको सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थामा स्वास्थ्यकर्मीहरूसमेत सम्पर्कविहीन भएपछि उनीहरूको अवस्थाबारे खोजी तथा उद्धारका लागि थप समन्वय आवश्यक देखिएको छ।

बाढी प्रभावितका लागि डब्लुएचओको १ लाख ५० हजार अमेरिकी डलर आपत्कालीन सहयोग
आइतबार, भदौ १४, २०८३
रसुवा बाढी : १३५ जना उपचारपछि घर फर्किए, ७५ जना उपचाररत
आइतबार, भदौ १४, २०८३
आर्या फार्माले गर्यो बाढीपीडितलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको औषधि सहयोग
आइतबार, भदौ १४, २०८३
बाढीपीडित घाइतेलाई रेडक्रसले निःशुल्क रगत उपलब्ध गराउने
आइतबार, भदौ १४, २०८३
