नेपाल हेल्थ न्युज, गोरखा । गोरखा कारागारमा डेंगु तथा भाइरल ज्वरोको संक्रमण देखिएपछि कैदीबन्दीको स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ। पछिल्लो स्वास्थ्य परीक्षणबाट १० जना कैदीबन्दीमा डेंगु र २० जनामा भाइरल ज्वरो पुष्टि भएको हो।
कारागार प्रशासनका अनुसार लगातार ज्वरो आउने तथा अन्य स्वास्थ्य समस्या देखिएपछि आइतबार कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको थियो। डेंगु संक्रमितमध्ये एक जनालाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि भर्ना गरिएको छ भने बाँकी संक्रमितलाई कारागार परिसरमै चिकित्सकीय निगरानीमा राखेर उपचार भइरहेको छ।
डेंगु संक्रमण पुष्टि भएपछि प्रदेश अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय र गोरखा नगरपालिकाका स्वास्थ्यकर्मीको टोलीले कारागार पुगेर संक्रमित तथा अन्य कैदीबन्दीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार तत्कालका लागि कारागारभित्रै उपचार र व्यवस्थापनको व्यवस्था गरिएको छ। गम्भीर अवस्था देखिएका बिरामीलाई आवश्यकताअनुसार अस्पताल लैजाने तयारीसमेत गरिएको प्रशासनले जनाएको छ।
तर कारागारको अत्यधिक भीडभाड संक्रमण नियन्त्रणका लागि मुख्य चुनौती बनेको छ। पुरुष कक्षमा ३५ जनाका लागि मात्रै क्षमता भए पनि हाल १०१ जना कैदीबन्दी राखिएका छन्। क्षमताभन्दा करिब तीन गुणा बढी मानिस एउटै क्षेत्रमा बस्नुपर्ने भएकाले संक्रमितलाई अन्य कैदीबन्दीबाट अलग राख्न कठिन भइरहेको छ।
कैदीबन्दीले पनि पर्याप्त स्थान, शौचालय र खानेपानीको सुविधा नभएको गुनासो गरेका छन्। सीमित पूर्वाधारमा ठूलो संख्यामा कैदीबन्दी बस्दै आएका कारण डेंगु तथा भाइरल ज्वरो नियन्त्रण गर्न थप समस्या हुन सक्ने देखिएको छ।
हाल गोरखा कारागारको पुरुष कक्षमा १०१ र महिला कक्षमा सात जना कैदीबन्दी छन्। अहिलेसम्म डेंगुको संक्रमण पुरुष कक्षमा मात्रै देखिएको कारागार प्रशासनले जनाएको छ।
२०७२ सालको भूकम्पबाट कारागारको सुरक्षात्मक पर्खालमा समेत क्षति पुगेको थियो। भूकम्पपछि विभिन्न सरकारी संरचनाको पुनर्निर्माण भए पनि गोरखा कारागारको पुनर्निर्माण प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन। हाल सञ्चालनमा रहेको कारागार भवन २०४६ सालमा निर्माण भएको हो।
पुरानो संरचना, क्षमताभन्दा धेरै कैदीबन्दी र सीमित स्वास्थ्य सुविधाका कारण अहिलेको संक्रमणले कारागारको भौतिक पूर्वाधार तथा स्वास्थ्य व्यवस्थापनको अवस्थामाथि पुनः प्रश्न उठाएको छ।
बाढी प्रभावितका लागि डब्लुएचओको १ लाख ५० हजार अमेरिकी डलर आपत्कालीन सहयोग
आइतबार, भदौ १४, २०८३
रसुवा बाढी : १३५ जना उपचारपछि घर फर्किए, ७५ जना उपचाररत
आइतबार, भदौ १४, २०८३
आर्या फार्माले गर्यो बाढीपीडितलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको औषधि सहयोग
आइतबार, भदौ १४, २०८३
बाढीपीडित घाइतेलाई रेडक्रसले निःशुल्क रगत उपलब्ध गराउने
आइतबार, भदौ १४, २०८३
