नेपाल हेल्थ न्युज, इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा १४ शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज सरिफले आठ अधिकारीलाई निलम्बन गरी उनीहरूमाथि फौजदारी कारबाही अघि बढाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीद्वारा गठित चार सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनअनुसार बुधबार बिहान ६ः३० बजेपछि करिब दुई मिनेटमै आगलागी वार्डभर फैलिएको थियो । अस्पतालको निगरानीमा रहेका १५ शिशुमध्ये एक नर्सले एक जनालाई मात्र उद्धार गर्न सफल हुनुभएको थियो । निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशक, नवजात शिशु विभागका प्रमुख तथा इस्लामावादको आपतकालीन सेवाका महानिर्देशकसहितका अधिकारी छन् ।
प्रधानमन्त्री सरिफले शनिबार जिम्मेवार व्यक्तिलाई कुनै छुट नदिइने र उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले अस्पतालको सुरक्षा व्यवस्थापनको जिम्मा पाएको कम्पनीविरुद्ध समेत कारबाही अघि बढाउन स्वीकृति दिनुभएको छ ।
प्रतिवेदनअनुसार आगलागी सुरु भएको करिब छ मिनेटपछि आपतकालीन सेवालाई जानकारी दिइएको थियो भने पहिलो उद्धार टोली १५ मिनेटपछि घटनास्थल पुगेको थियो ।
अभिभावक तथा प्रत्यक्षदर्शीले उद्धार कार्य ढिलो भएको र सुरक्षाकर्मीले मानिसलाई भवनबाट बाहिरिन रोकेको आरोप लगाएका छन् । अस्पतालमा आगलागी तथा अन्य आपतकालीन अवस्थासम्बन्धी पर्याप्त सञ्चालन कार्यविधि र तालिमको व्यवस्था नभएको पनि प्रतिवेदनमा उल्लेख छ । आगलागी हुँदा वार्डमा दुई नर्स, एक महिला सुरक्षाकर्मी र अर्का एक कर्मचारी उपस्थित थिए ।
स्वास्थ्यमन्त्री मुस्तफा कमालले यसअघि एयर कन्डिसनरबाट निस्किएको झिल्काका कारण आगलागी भएको हुन सक्ने बताउनुभएको थियो । तर प्रारम्भिक प्रतिवेदनले आगलागीको वास्तविक कारण अझै पुष्टि नभएको जनाएको छ । घटनापछि स्वास्थ्य सचिव असलम घोरीलाई पदबाट हटाइएको थियो ।
पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र नियमको फितलो कार्यान्वयनका कारण भवनमा आगलागीका घटना हुने गरेका छन् । गत जनवरीमा कराँचीको एक सपिङ सेन्टरमा भएको आगलागीमा ६५ जनाभन्दा बढीको मृत्यु भएको थियो । सन् २०२३ मा कराँचीकै अर्को सपिङ मलमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो । रासस/एएफपी
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ९४ शव, ४८ को पोस्टमार्टम सम्पन्न
सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिला फरार
सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन
सोमबार, भदौ १५, २०८३
बाढी प्रभावितका लागि डब्लुएचओको १ लाख ५० हजार अमेरिकी डलर आपत्कालीन सहयोग
आइतबार, भदौ १४, २०८३
