नेभिगेशन

चार प्रदेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने विश्वविद्यालयको तयारी

नेपाल हेल्थ न्युज, धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका चार प्रमुख अस्पतालसँग सहकार्य गर्दै चिकित्सा शिक्षा, तालिम र अनुसन्धान अघि बढाउने भएको छ।

यसका लागि विश्वविद्यालय र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबीच समझदारी भएको छ। समझदारीअनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र लम्कीचुहा प्रादेशिक अस्पताललाई विश्वविद्यालयका विद्यार्थीको क्लिनिकल अध्ययन, स्वास्थ्यसम्बन्धी तालिम तथा अनुसन्धानका लागि प्रयोग गरिनेछ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले प्रदेशका अस्पतालसँग गरिएको सहकार्य गेटामा निर्माण भइरहेको विश्वविद्यालयको आफ्नै शिक्षण अस्पतालको विकल्प नभएको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार प्रदेशमा उपलब्ध स्वास्थ्य पूर्वाधार, विशेषज्ञ चिकित्सक र जनशक्तिको अधिकतम उपयोग गर्दै चिकित्सा शिक्षा विस्तार गर्ने उद्देश्यले समझदारी गरिएको हो।

विश्वविद्यालयले गेटामा ३०० शय्याको आफ्नै शिक्षण अस्पतालसहित आवश्यक शैक्षिक तथा स्वास्थ्य पूर्वाधार विकास गरिरहेको छ। विश्वविद्यालयले चालु वर्षदेखि एमबीबीएससहित चार वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।

उपकुलपति जोशीका अनुसार गेटाको शिक्षण अस्पताल विश्वविद्यालयको मुख्य आधार रहनेछ। त्यससँगै प्रदेशका विभिन्न सरकारी अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गरेर विद्यार्थीलाई व्यवहारिक तथा क्लिनिकल अध्ययनको अवसर उपलब्ध गराइनेछ।

उहाँले विश्वविद्यालय ऐनले दिएको अधिकारअनुसार संघ, प्रदेश र स्थानीय तहअन्तर्गत रहेका अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्न सकिने बताउनुभयो। यसबाट चिकित्सा शिक्षा मात्र नभई स्वास्थ्य सेवा र अनुसन्धानको दायरा पनि प्रदेशभर विस्तार गर्न सहयोग पुग्ने विश्वविद्यालयको अपेक्षा छ।

चार अस्पतालसँग भएको समझदारी सुरुमा पाँच वर्षका लागि गर्ने योजना रहे पनि प्रदेश सरकारले दीर्घकालीन सहकार्यबाट सुदूरपश्चिमका नागरिकलाई बढी लाभ पुग्ने सुझाव दिएपछि अवधि २० वर्ष कायम गरिएको बताइएको छ।

यद्यपि, दुवै पक्षको सहमतिमा आवश्यक प्रक्रिया पूरा गरी समझदारी अन्त्य गर्न सकिने व्यवस्था पनि राखिएको छ। त्यसका लागि एक वर्षअघि नै पूर्वसूचना दिनुपर्ने प्रावधान रहेको उपकुलपति जोशीले जानकारी दिनुभयो।

विश्वविद्यालयले गेटामा आफ्नै शिक्षण अस्पताल निर्माणलाई प्राथमिकतामा राख्दै प्रदेशका अन्य अस्पतालसँग समेत समन्वय गरेर चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानलाई सुदूरपश्चिमका विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना अघि बढाएको छ। विश्वविद्यालयका अनुसार आफ्नै शिक्षण अस्पताल र प्रदेशका अन्य अस्पतालसँगको सहकार्यलाई समानान्तर रूपमा अघि बढाइनेछ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ