नेभिगेशन

चिरफार बिनै गरियो नसाको जटिल उपचार

नेपाल हेल्थ न्युज, काठमाडौं । लामो समयदेखि पूर्ण रूपमा बन्द रहेको मस्तिष्कमा रगत पुर्‍याउने प्रमुख धमनीलाई चिरफार नगरी उपचारमार्फत खुलाएर रक्तसञ्चार पुनःस्थापित गरिएको छ।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा टाकायासु धमनीशोथबाट प्रभावित २२ वर्षीया युवतीको यस्तो जटिल उपचार गरिएको हो। उहाँको मस्तिष्कमा रगत पुर्‍याउने प्रमुख धमनीका केही शाखा लामो समयदेखि बन्द अवस्थामा रहेका थिए।

यसैबीच अचानक मस्तिष्कको दायाँ मध्य धमनीमा अवरोध देखिएपछि उहाँलाई पक्षघातसमेत भएको थियो। अवस्था जटिल बनेपछि चिकित्सकहरूले न्युरो इन्टरभेन्सन प्रविधिबाट उपचार अघि बढाउनुभएको थियो।

उपचारका क्रममा लामो समयदेखि बन्द रहेको धमनीलाई विशेष प्रकारको बेलुन प्रयोग गरी विस्तार गरिएको थियो। त्यसपछि धमनी खुला राख्न जाली (स्टेन्ट) राखेर रक्तप्रवाह पुनः सञ्चालनमा ल्याइएको चिकित्सकहरूले बताउनुभएको छ।

त्यससँगै मस्तिष्कको धमनीमा बनेको रगतको डल्लोसमेत यान्त्रिक विधिबाट निकालिएको थियो। डल्लो हटाएपछि प्रभावित क्षेत्रमा पुनः रक्तसञ्चार सञ्चालन भएको न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडेलले जानकारी दिनुभयो।

चिकित्सकका अनुसार यस्तो किसिमको जटिल उपचार नेपालमा पहिलोपटक गरिएको दाबी गरिएको छ। उपचारपछि बिरामीको स्नायुसम्बन्धी अवस्थामा उल्लेखनीय सुधार देखिएको उहाँले बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट