नेभिगेशन

पाल्पामा दुई महिनामै २३१ जनामा डेंगु संक्रमण

नेपाल हेल्थ न्युज, पाल्पा । पाल्पामा चालु आर्थिक वर्षको दुई महिनामै २३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २० गतेसम्म जिल्लामा २३१ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पामा डेंगु संक्रमणको संख्या सबैभन्दा धेरै देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। चालु आर्थिक वर्ष सुरु भएयता भएको परीक्षणको विवरणअनुसार प्रदेशका अन्य जिल्लाको तुलनामा पाल्पाबाट डेंगु संक्रमणको रिपोर्टिङ बढी भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले जानकारी दिनुभयो।

जिल्लाका चार ठूला अस्पतालमा गरिएको परीक्षणमा डेंगु संक्रमितको संख्या बढ्दो क्रममा देखिएको हो। पाल्पा अस्पताल तानसेन, रामपुर अस्पताल रामपुर, लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका लागि पुगेका बिरामीको परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको भट्टराईले बताउनुभयो।

जिल्लाका अन्य स्वास्थ्य संस्था तथा निजी मेडिकलमा समेत डेंगुका बिरामी बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ। जलवायु परिवर्तनसँगै डेंगु परीक्षणको दायरा बढेकाले संक्रमितको संख्या बढी देखिएको भट्टराईको भनाइ छ।

त्यसैगरी, जिल्लाका दुई ठूला निजी अस्पतालमा बाहिरी जिल्लाबाट उपचारका लागि आउने बिरामीमा समेत डेंगु संक्रमण धेरै देखिएको छ। यसका कारण लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै संक्रमित रिपोर्ट हुने जिल्लाका रूपमा पाल्पा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

पाल्पामा अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा ४३२ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो। त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा ५१० जना र २०८०/८१ मा ६८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ।

जलवायु परिवर्तनका कारण डेंगु सार्ने लामखुट्टेको वृद्धि तथा विकासका लागि अनुकूल वातावरण बनेकाले संक्रमितको संख्या बढेको भट्टराईले बताउनुभयो। विशेषगरी वर्षायाममा पानी जम्ने स्थान बढ्दा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले डेंगुको जोखिम बढ्ने गरेको उहाँको भनाइ छ।

डेंगु रोग एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। अहिले वर्षा भइरहेका कारण लामखुट्टेको वृद्धि तथा विकासमा सहयोग पुग्दा डेंगु संक्रमण फैलिने जोखिमसमेत बढेको स्वास्थ्यकर्मीले बताएका छन्।

डेंगु संक्रमण हुँदा अत्यधिक टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने र पेट दुख्ने जस्ता लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, शरीरमा रगत जमेको जस्तो दाग देखिने तथा बेहोस हुनेजस्ता समस्या पनि देखिन सक्ने चिकित्सकले बताएका छन्।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन तथा लामखुट्टेको वृद्धि रोक्न आवश्यक सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। घर तथा वरपर पानी जम्न नदिने, पानी जम्ने भाँडाकुँडा सफा गर्ने र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन स्वास्थ्य कार्यालयले सुझाव दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट