नेभिगेशन

अवैध स्वास्थ्य जाँच र औषधि बिक्रीको आरोपमा ग्लोबल ओरियन्समा प्रहरीको छापा, ४१ जना पक्राउ

नेपाल हेल्थ न्युज, झापा । अवैध रूपमा स्वास्थ्य परीक्षण तथा औषधि बिक्री–वितरण गर्दै नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोडस्थित ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेर ४१ जनालाई पक्राउ गरेको छ।

बिर्तामोड नगरपालिका–५ स्थित बुद्धनगरमा रहेको ग्लोबल ओरियन्सको कार्यालयमा बुधबार अपराह्न इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकको नेतृत्वमा प्रहरी टोलीले छापा मारेको हो।

छापाका क्रममा इलाम घर भएका अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक सुजन लिम्बू, ग्लोबल ओरियन्सका शाखा प्रमुख पिताम्बर कट्टेलसहित २२ जना महिला र १९ जना पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार कार्यालयबाट विभिन्न प्रकारका औषधि, स्वास्थ्य जाँच गर्ने मेसिन, कागजात तथा केही नगदसमेत बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

प्रहरीका अनुसार शैक्षिक परामर्श तथा तालिम सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको भनिएको अर्जुनधारा मल्टी पर्पोजसँग सहकार्य गर्दै ग्लोबल ओरियन्सले अनुमति बिना स्वास्थ्य परीक्षण र औषधि बिक्री–वितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कक्षा १२ सम्म अध्ययन गरेका ग्लोबल ओरियन्सका शाखा प्रमुख पिताम्बर कट्टेलले एउटा मेसिनमार्फत सर्वसाधारणको ‘होलबडी चेकअप’ गर्दै आएको प्रहरीको भनाइ छ। स्वास्थ्य परीक्षण गरेबापत प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिने गरेको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न स्वास्थ्य समस्या तथा रोगसमेत निको पार्ने दाबी गर्दै गाउँ–गाउँका सर्वसाधारणलाई प्रभावित पार्ने र नेटवर्किङ व्यवसायमा आबद्ध गराउने गरेको आरोप छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट