नेपाल हेल्थ न्युज, काठमाडौं । मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको उपलब्धि निरन्तर कायम राखेको भन्दै नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा सम्मान गरिएको छ।
टिमोर–लेस्टेको राजधानी डिलीमा जारी बैठकका क्रममा नेपालले एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राख्न सफल भएको भन्दै सम्मानपत्र प्रदान गरिएको हो।
नेपालको तर्फबाट स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय टोली बैठकमा सहभागी भएको छ। डब्ल्यूएचओका महानिर्देशकले डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो।
डब्ल्यूएचओले नेपालले बलियो सरकारी प्रतिबद्धता, प्रभावकारी तथा गुणस्तरीय खोप सेवा र सुरक्षित प्रसूति अभ्यासलाई निरन्तरता दिएकै कारण यो उपलब्धि जोगाउन सफल भएको जनाएको छ।
सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसियामा मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राख्न भइरहेका क्षेत्रीय तथा सामूहिक प्रयासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गरिएको छ।
यता, देशमा आएको विनाशकारी बाढीका कारण स्वास्थ्य प्रतिकार्य, समन्वय तथा उद्धार र जीवनरक्षासम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न हुनुपर्ने भएकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बैठकमा उपस्थित हुन सक्नुभएन ।
मन्त्री मेहताले भिडियोमार्फत बैठकलाई सम्बोधन गर्दै नेपालमा बाढीका कारण उत्पन्न संकट तथा प्रभावित नागरिकको अवस्थाबारे जानकारी गराउनुभयो। उहाँले जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरणका लागि जलवायु न्याय र पर्याप्त जलवायु वित्तको आवश्यकता समेत औँल्याउनुभयो।
भरतपुर अस्पताल विकास समिति अध्यक्ष पदका लागि ११ उम्मेदवार अन्तर्वार्तामा छनोट
मंगलबार, भदौ २३, २०८३
नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान
मंगलबार, भदौ २३, २०८३
बाढीपीडितका लागि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
मंगलबार, भदौ २३, २०८३
