नेभिगेशन

नेपाल नेत्रज्योति सङ्घलाई डब्लुएचओको ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयबाट ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६ प्राप्त गरेको छ।

दक्षिण–पूर्वी एसिया क्षेत्रीय कमिटीको ७९औँ बैठकका अवसरमा तिमोर–लेस्तेको दिलीमा आयोजित कार्यक्रममा डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले सङ्घका अध्यक्ष प्रा. डा. चेतराज पन्तलाई उक्त सम्मान प्रदान गर्नुभएको हो।

नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सर्वसुलभ, समतामूलक र विपन्न तथा पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित नेत्र स्वास्थ्य सेवा विस्तारमा पुर्‍याएको योगदानको कदरस्वरूप सङ्घलाई पहिलो पटक यो सम्मान प्रदान गरिएको डब्लुएचओले जनाएको छ।

सार्वजनिक स्वास्थ्य विधातर्फ नेपाल नेत्रज्योति सङ्घसँगै थाइल्याण्डकी डा. नित्ताया फानुफाक र भारतका डा. के. सुरेशकुमार पनि सम्मानित हुनुभएको छ।

नेपाल नेत्रज्योति सङ्घले करिब पाँच दशकदेखि नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि काम गर्दै आएको छ। देशभर फैलिएको आँखा अस्पताल तथा उपचार केन्द्रको सञ्जाल, समुदायस्तरमा सञ्चालित आँखा उपचार तथा शल्यक्रिया शिविर, पहुँचबाट बाहिर रहेका समुदायसम्म सेवा विस्तार तथा प्राथमिक स्वास्थ्य सेवासँग आँखा स्वास्थ्यलाई एकीकृत गर्ने प्रयासमार्फत सङ्घले सेवा प्रदान गर्दै आएको छ।

सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार हालसम्म सङ्घले पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

हाल सङ्घअन्तर्गत २८ वटा आँखा अस्पताल, ४४ जिल्ला शाखा र २२६ आँखा उपचार केन्द्र सञ्चालनमा छन्। ती संस्थामार्फत नेपालीसहित विभिन्न देशका नागरिकलाई आँखा उपचार सेवा प्रदान हुँदै आएको सङ्घले जनाएको छ।

सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले समुदायको सहभागिता, साझेदारी र स्थानीय आवश्यकतामा आधारित सेवामार्फत सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ सङ्घले काम गरिरहेको बताउनुभयो।

उहाँका अनुसार आर्थिक तथा भौगोलिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गर्दै निःशुल्क तथा सहुलियतपूर्ण आँखा उपचार र शल्यक्रिया सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिइएको छ।

डब्लुएचओका अनुसार नेपालमा अन्धोपनको दर सन् १९८१ मा ०.८४ प्रतिशत रहेकामा सन् २०२०/२१ सम्ममा घटेर ०.२८ प्रतिशतमा पुगेको छ।

यस वर्ष सार्वजनिक स्वास्थ्य विधाका लागि १०२ वटा मनोनयन परेकोमा सार्वजनिक स्वास्थ्यमा प्रभाव, नवीनता, विस्तारयोग्यता, दिगोपन र समतामूलक पहुँचलगायतका आधारमा वरिष्ठ डब्लुएचओ विज्ञ सम्मिलित छनोट समितिले मूल्याङ्कन गरी अवार्ड प्राप्तकर्ताको छनोट गरेको थियो।

सङ्घले यो सम्मानलाई नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सबैका लागि गुणस्तरीय र पहुँचयोग्य आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न गर्दै आएको निरन्तर प्रयासको अन्तर्राष्ट्रिय सम्मानका रूपमा लिएको जनाएको छ।

महासचिव चन्दले अवार्डलाई सङ्घसँग आबद्ध चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक, जिल्ला शाखा, आँखा अस्पताल तथा उपचार केन्द्र, नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, दातृ संस्था, स्थानीय समुदाय र शुभेच्छुकहरूको सामूहिक योगदानको सम्मानका रूपमा लिएको बताउनुभयो।

यसैबीच, सङ्घले गत आर्थिक वर्षमा विदेशी बिरामीमार्फत एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याएको जनाएको छ। यसले नेपालमा स्वास्थ्य पर्यटनको सम्भावनालाई समेत थप बल पुगेको सङ्घको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट